एमाले नेताहरूमाथि गाडी भाडा नतिरेको आरोप: ‘दुई वर्ष बित्दा पनि पाइएन २ लाख’

प्रकाशित मिति:

धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल र भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालमाथि सर्वसाधारणको गाडी प्रयोग गरेर भाडा नतिरेको गम्भीर आरोप लागेको छ। दार्चुला घर भई हाल कैलालीको गोदावरी बस्ने विष्णु विष्टले नेताद्वयले दुई महिनासम्म आफ्नो स्कार्पियो गाडी गुडाए पनि भाडाबापतको २ लाख रुपैयाँ अहिलेसम्म भुक्तानी नगरेको गुनासो गरेका हुन्।

विष्टका अनुसार मन्त्री पालको आग्रहमा उनको से १ च १६९७ नम्बरको स्कार्पियो गाडी २०८० जेठदेखि भदौसम्म पूर्व मुख्यमन्त्री रावलको प्रयोगका लागि उपलब्ध गराइएको थाहा भएको छ। मासिक एक लाख रुपैयाँ भाडा दिने मौखिक सहमति भए पनि दुई वर्ष बित्न लाग्दा समेत रकम नपाएको पीडितको भनाइ छ। मन्त्री पालले ‘लिखित सम्झौता चाहिँदैन, म जिम्मेवारी लिन्छु’ भनेर थुमथुम्याए पनि अहिले रकम माग्दा दुवै नेताले बेवास्ता गरेको विष्टले बताए। यस विषयमा बुझ्न खोज्दा पूर्व मुख्यमन्त्री रावलले फोन काटेका छन् भने मन्त्री पालको मोबाइल स्विच अफ रहेको छ।

चुनावका बेला अरू नेताले पनि गरे बदमासी

गाडी धनी विष्टले २०७९ सालको निर्वाचनका क्रममा एमालेका अन्य स्थानीय नेताहरूले समेत गाडी प्रयोग गरेर कुल ५ लाख १५ हजार रुपैयाँ भाडा नतिरेको दाबी गरेका छन्। लामो समयसम्म आफ्नो पसिनाको कमाई नपाउँदा आफू आर्थिक र मानसिक रूपमा थप पीडित बनेको र औषधि उपचारमा समेत समस्या भएको उनले दुखेसो पोखे।

यी हुन् रकम तिर्न बाँकी भनिएका अन्य नेताहरू:

  • लालबहादुर सुनार र सुरेश महरा: १ लाख १७ हजार रुपैयाँ (रकम तिर्न बाँकी रहेको स्वीकारेका छन्)
  • अनिल ठगुन्ना: १ लाख १५ हजार रुपैयाँ (उनले भने १५-२० हजार मात्र बाँकी रहेको दाबी गरे)
  • कमल विष्ट: ७० हजार रुपैयाँ (रकम तिर्न बाँकी रहेको स्वीकारेका छन्)
  • हरदेव जोशी (पूर्व उम्मेदवार): ८ हजार रुपैयाँ

आरोपितमध्ये अधिकांश नेताहरूले चुनावी समयमा गाडी चलाएको स्वीकार गर्दै आर्थिक व्यवस्थापन हुन नसक्दा रकम तिर्न ढिलाइ भएको बताएका छन्।

ताजा समाचार