कतारलाई ८ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

प्रकाशित मिति:

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। मलेसियामा बुधबार भएको उद्घाटन खेलमा नेपालले कतारलाई ८ विकेटको विशाल अन्तरले पराजित गरेको हो। जितका लागि कतारले दिएको ७७ रनको सामान्य लक्ष्यलाई नेपालले मात्र १०.५ ओभरमा २ विकेट गुमाएर सहजै पूरा गर्‍यो। नेपालका लागि विन्दु रावलले सर्वाधिक ३३ रन बनाइन् भने उपकप्तान पूजा महतो २८ रनमा अविजित रहिन्।

यसअघि पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमै समेटिएको थियो। कतारलाई सस्तैमा रोक्न नेपालकी रुबिना क्षेत्रीले ३ विकेट लिइन् भने कविता कुँवर, रिया शर्मा र पूजा महतोले १-१ विकेट बाँडे। कुल १८ टोली सहभागी यस प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले अब आफ्नो दोस्रो खेल बिहीबार भुटानसँग खेल्नेछ। प्रत्येक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन् र विजेता टोली एसिया कपका लागि छनोट हुनेछन्।

ताजा समाचार