भारतमा दुई नेपालीमाथि कुटपिट, कञ्चनपुरका युवक–युवती घाइते

प्रकाशित मिति:

महेन्द्रनगर । भारतको सीमावर्ती क्षेत्रमा कञ्चनपुरका दुई नेपाली नागरिकमाथि कुटपिट भएको छ। कुटपिटबाट दोधाराचाँदनी नगरपालिका–१० प्रतिभाटोल निवासी सन्दीप परियार र दिपिका परियार घाइते भएका छन्।

घटनामा सन्दीपको टाउको तथा दिपिकाको पेटसहित शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। उनीहरूले घर फर्किएपछि स्थानीय अस्पतालमा उपचार गराएका छन्।

पीडितका अनुसार सीमावर्ती भारतीय बजार घुमेर घर फर्किने क्रममा नौजलिया क्षेत्रमा केही भारतीय युवासँग विवाद भएको थियो। भारतीय युवाहरूले दिपिकालाई जिस्क्याउन थालेपछि त्यसको विरोध गर्दा विवाद चर्किएको र त्यसपछि कुटपिट भएको सन्दीप परियारले बताए।

उनका अनुसार ५ देखि ७ जनाको समूहमा रहेका भारतीय युवाहरूले उनीहरूमाथि आक्रमण गरेका थिए। “बहिनीलाई जिस्क्याउन थालेपछि यस्तो नगर्न आग्रह गरेको थिएँ। त्यसपछि उनीहरूले हामीमाथि कुटपिट सुरु गरे,” सन्दीपले भने।

उनले घटनापछि थप स्थानीय व्यक्तिहरू समेत आएर आक्रमणमा गरे। “हामीले नेपालतर्फ भागेर ज्यान जोगायौँ। घटनास्थलमा रहेका तीन मोटरसाइकलमध्ये दुई वटा चिनजानका भारतीय नागरिकको सहयोगमा फिर्ता ल्याउन सफल भयौँ, तर एउटा मोटरसाइकल तोडफोड भएपछि ल्याउन सकेनौँ,” उनले बताए।

घटनाबारे कञ्चनपुर प्रशासनले जानकारी लिने प्रक्रिया अघि बढाएको जनाएको छ। कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले घटनाको आधिकारिक विवरण प्रशासनमा नआइसकेकाले सुरक्षा निकायमार्फत बुझ्ने र आवश्यक कदम चालिने बताए। “घटनाबारे तथ्य बुझेर आवश्यक समन्वय र पहल गरिनेछ,” उनले भने।

घटनापछि पीडित तथा स्थानीयवासीले दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। सीमावर्ती क्षेत्रमा हुने यस्ता घटनाले नेपाली नागरिकको सुरक्षाप्रति चिन्ता बढाएको स्थानीयको भनाइ छ।

ताजा समाचार