बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकामा युवाहरूबीच भएको आपसी विवाद र झडपमा परेर एक जनाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–६, कोटीला बस्ने अन्दाजी ३२ वर्षका निर रावतको कुटपिटका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टि गरेको छ।
प्रहरीका अनुसार गत बुधबार राति स्थानीय युवाहरूबीच सामान्य विवाद हुँदा झडपको स्थिति सिर्जना भएको थियो। घटनामा संलग्न रहेको आरोपमा सोही ठाउँका १९ वर्षीय टेकेन्द्र रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख शैलेश्री बोहराका अनुसार घटनाको जानकारी पाउनासाथ कोल्टी इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर प्रारम्भिक छानबिन सुरु गरिसकेको छ। घटनाको गम्भीरतालाई हेर्दै थप अनुसन्धानका लागि जिल्लाबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) गगनसिंह भाटको कमाण्डमा अर्को टोली पनि कोटीला पठाइएको छ।
युवाहरूबीच कुन विषयलाई लिएर विवाद र झडप भएको हो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। प्रहरी प्रमुख बोहराले घटनाको विस्तृत कारण विस्तृत अनुसन्धान सकिएपछि मात्रै बाहिर आउने जानकारी दिनुभयो।



