काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) भित्रको आन्तरिक विवाद थप चर्किएको छ। पार्टी अध्यक्ष सन्तोष परियारको नेतृत्वमा बसेको सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं पार्टीका संरक्षक डा. बाबुराम भट्टराईबारे गरेको निर्णयलाई लिएर आन्तरिक मतभेद सतहमा आएको हो।
सचिवालय बैठकले डा. भट्टराईले पार्टी नेतृत्वप्रति अराजक र स्तरहीन टिप्पणी गरेको निष्कर्ष निकाल्दै उक्त अभिव्यक्तिप्रति खेद प्रस्ताव पारित गरेको छ। अध्यक्ष परियारद्वारा जारी विज्ञप्तिमा डा. भट्टराई सांगठनिक कार्यमा सहभागी नहुने स्वेच्छिक जानकारी गराएपश्चात् पार्टीले उनलाई बिदाइ गरिसकेको अवस्थामा नेतृत्वमाथि गरिएको टिप्पणी खेदजनक रहेको उल्लेख छ।
उक्त निर्णयप्रति डा. भट्टराई पक्षका नेताहरूले कडा आपत्ति जनाएका छन्। भट्टराई निकट नेता कृष्ण शर्माले सिमित व्यक्तिहरूको सहभागितामा गरिएको भनिएको सो निर्णय राजनीतिक दृष्टिले औचित्यहीन र अपरिपक्व रहेको टिप्पणी गर्नुभयो। उहाँले उक्त वक्तव्यलाई पार्टीको आधिकारिक लाइन मान्न नसकिने जिकिर गर्नुभयो। अर्का नेता रोशन पोखरेलले अध्यक्ष परियारले यसअघि नै सामाजिक सञ्जालमार्फत पार्टी छाडेको घोषणा गरिसकेकाले अहिले पार्टीको नाममा वक्तव्य जारी गर्नु अनैतिक भएको दाबी गर्नुभयो। यद्यपि अध्यक्ष परियारले भने आफूले पार्टी नछाडेको प्रष्टीकरण दिँदै आउनुभएको छ।
यसैबीच, सचिवालय बैठकले पार्टीको एकता महाधिवेशन आगामी असोज ११ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको छ। महाधिवेशनबारे थप निर्णय लिन साउन तेस्रो साता महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको छ।
बैठकले विभिन्न वामपन्थी तथा प्रगतिशील समाजवादी शक्तिहरूसँग एकता र ध्रुवीकरणका लागि अध्यक्ष परियारको नेतृत्वमा एक संवाद समिति समेत गठन गरेको छ। समितिमा जनार्दन शर्मा, राम कार्की, डा. जनक शाह, कृष्ण केसी र जटिल कार्की रहनुभएको छ। यसै गरी बैठकले संसदमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिको विरोध गर्दै खेद प्रस्ताव समेत पारित गरेको छ।



