काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला राष्ट्रिय टोली सम्मिलित खेलमा भएको ‘टाइम्ड आउट’ को घटनाप्रति औपचारिक रूपमा माफी मागेको छ। क्यानले बिहीबार एक विज्ञप्ति जारी गर्दै भुटानी ब्याटरलाई ‘टाइम्ड आउट’ गराइएको घटना नेपाली क्रिकेटले अङ्गीकार गरेको खेलभावना विपरीत भएको जनाएको हो।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा खेलको नियम अनुसार ब्याटरलाई आउट गराइएको भए पनि उक्त कार्य क्रिकेटको मूल्य मान्यता र भावनाअनुरूप नभएको उल्लेख गरिएको छ। “क्रिकेटको भावना केवल लिखित नियममा मात्र सीमित हुँदैन, यो सधैँ खेल आचरणको केन्द्रमा रहनुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
क्यानले नेपाल क्रिकेट विकासको चरणमा रहेको राष्ट्र भएकाले खेलभावना, पारस्परिक सम्मान र निष्पक्ष खेललाई सधैँ उच्च प्राथमिकतामा राख्ने स्पष्ट पारेको छ। सो घटनाबाट क्रिकेटप्रेमी तथा सरोकारवालाहरूमा पर्न गएको निराशाप्रति दुःख व्यक्त गर्दै क्यानले भुटान क्रिकेट, सम्बन्धित खेलाडी र अन्य पक्षसँग क्षमायाचना गरेको छ।
एसीसी महिला प्रिमियर कप अन्तर्गत नेपाल र भुटानबीचको खेलका क्रममा नेपालले दिएको ११४ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले पहिलो इनिङ्सको पहिलो बलमै विकेट गुमाएको थियो। त्यसपछि ९० सेकेन्डको निर्धारित समयभित्र भुटानकी तेस्रो नम्बरकी ब्याटर रिट्सी छोडेन क्रिजमा आइपुग्न नसकेपछि नेपाली खेलाडीहरूले नियम अनुसार ‘टाइम्ड आउट’ को अपिल गरेका थिए। सोही अपिलका आधारमा अम्पायरले उनलाई आउट घोषित गरेका थिए।



