कञ्चनपुर । कञ्चनपुरमा सम्झौता अवधि र थप गरिएको म्याद सकिँदा पनि काम पुरा नगरी विकास अलपत्र पार्ने १५ वटा सडक आयोजनाको ठेक्का रद्द गरिएको छ। पूर्वाधार विकास कार्यालय कञ्चनपुरले समयमै काम नसक्ने निर्माण कम्पनीहरू विरुद्ध कडा कदम चाल्दै ठेक्का सम्झौता तोडेको हो। कार्यालयका सूचना अधिकारी लक्ष्मणराज जोशीका अनुसार सुरुमा काम नगर्ने २५ वटा ठेक्का खारेजीको प्रक्रिया अघि बढाइएकोमा हाल १० वटा कम्पनीले धमाधम काम सुरु गरेका छन्। ती १० आयोजनाले आगामी असार मसान्तभित्र कार्य सम्पन्न नगरे तिनको ठेक्का पनि रद्द गरिने कार्यालयले चेतावनी दिएको छ।
आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएका यी सडक आयोजनाहरूमा ठेकेदारको ढिलासुस्तीका कारण प्रगति शून्य प्रायः थियो। कतिपय सडकको त प्रारम्भिक काम समेत नगरी वर्षौंदेखि अलपत्र छाडिएपछि स्थानीय बासिन्दाले चर्को विरोध गर्दै आएका थिए। ठेक्का तोडिएका कम्पनीहरूमा एसएन निर्माणका चार, नागार्जुनका चार, राधाभानुका दुई, गणपतिका चार र आरपी कन्स्ट्रक्सनको एउटा आयोजना रहेका छन्।
लापरबाही गर्ने यी निर्माण व्यवसायीहरूलाई सार्वजनिक खरिद नियमावली, २०६४ र सम्झौताको सर्तबमोजिम कालोसूचीमा राख्न सिफारिस गरिने भएको छ। साथै, उनीहरूको कार्य सम्पादन जमानत, धरौटी र पेस्की रकम समेत जफत गर्ने निर्णय कार्यालयले गरेको छ। निर्माण पक्षलाई १५ दिनभित्र वित्तीय फरफारकका लागि समय दिइएको छ। ठेक्का रद्द भएका अधिकांश सडक ग्रामीण क्षेत्रका हुन्, जसका कारण स्थानीय बासिन्दाले हिउँदमा धुलो र वर्षामा हिलोको सास्ती खेप्दै कृषि उपज ढुवानी र दैनिक आवतजावतमा ठुलो सास्ती भोग्दै आएका छन्।



