काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परी सामान्य घाइते हुनुभएको छ। उदयपुरको कटारीबाट आफैँले मोटरसाइकल चलाएर बेलुका जाँदै गर्दा उहाँ बिहीबार दुर्घटनामा पर्नुभएको हो। एक हातले मोटरसाइकल चलाउँदै अर्को हातले भिडिओ खिच्ने क्रममा सन्तुलन गुम्दा दुर्घटना भएको सो पार्टीका एक नेताले जानकारी दिएका छन्। दुर्घटनापछि पनि सामाजिक सञ्जालमा भिडिओ सार्वजनिक गर्दै अध्यक्ष साम्पाङले आफ्नो हातमा लागेको चोट र च्यातिएको सुरुवाल देखाउनुभएको थियो। उहाँको एउटा हातको छाला ताछिए पनि अवस्था सामान्य रहेको बताइएको छ।
दुर्घटनाबारे आज सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै अध्यक्ष साम्पाङले भन्नुभएको छ, “म आफैँ लडेँ, चोट मलाई नै लाग्यो! अलिअलि चोट लाग्नु नि पर्छ तर देशलाई चोट दिएको छैन मैले! धेरै नकराउनु!”
यसैबिच, श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले दुर्घटनाबारे आधिकारिक जानकारी दिँदै अध्यक्ष साम्पाङलाई सामान्य चोटपटक मात्र लागेको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताउनुभएको छ। नेता किरातीले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, “हाम्रो श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हिजो दुर्घटनामा परेको खबरले हामी सबैलाई चिन्तित बनाएको थियो, तर सामान्य चोटपटक मात्र भएकोले उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख छ र उहाँ आफ्नो दैनिकीमा सदाझैँ सक्रिय हुनुहुन्छ।”



