सुदूरपश्चिममा प्रहरीको एक्सन: २४ घण्टामा व्यापक सफलता

प्रकाशित मिति:

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशभर शान्ति सुरक्षा अमनचयन कायम गर्न र अपराध नियन्त्रणका लागि सञ्चालन गरेको विशेष अभियान अन्तर्गत २४ घण्टाको अवधिमा उल्लेखनीय सफलता हासिल गरेको छ। जेठ २१ गते बिहान ६ बजेदेखि २२ गते बिहान ६ बजेसम्मको अवधिमा सञ्चालित व्यापक सुरक्षा तथा कानुनी कारबाहीका क्रममा अवैध कारोबार, लागुऔषध ओसारपसार, जुवा–तास र फरार अभियुक्त नियन्त्रणमा प्रहरीले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको हो।

प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब १७ लाख ६० हजार रुपैयाँ बराबरका सामानहरू बरामद गरिएको छ। यसैगरी, लागुऔषध नियन्त्रण अभियानअन्तर्गत तीन जनालाई २ ग्राम ९५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ भने जुवा–तास खेलिरहेको अवस्थामा चार जनालाई नगद र ताससहित नियन्त्रणमा लिइएको छ।

कानुन कार्यान्वयन र अदालतको फैसला कार्यान्वयनलाई तीव्रता दिने क्रममा विभिन्न मुद्दामा वर्षौंदेखि फरार रहँदै आएका सात जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। अदालतको आदेश अनुसार कैद तथा जरिवाना असुली प्रक्रियालाई प्रभावकारी बनाउँदै हालसम्म कुल १ हजार ९३० जना फरार व्यक्तिहरूलाई नियन्त्रणमा लिइसकिएको प्रहरीले जनाएको छ।

यसैबिच, सडक सुरक्षा र ट्राफिक व्यवस्थापनतर्फ ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूमाथि कारबाही गरी ६४ हजार ५०० रुपैयाँ राजस्व संकलन गरिएको छ। उक्त अवधिमा भएका विभिन्न सडक दुर्घटनामा १४ जना घाइते भएको र उनीहरूको उपचार भइरहेको प्रहरीले उल्लेख गरेको छ। प्रदेश प्रहरी कार्यालयले नागरिकको धनजनको सुरक्षा, अपराध नियन्त्रण र कानुनी शासनको पूर्ण पालनाका लागि यस्ता नियमित तथा विशेष सुरक्षा अभियानहरूलाई आगामी दिनमा अझ सशक्त रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

ताजा समाचार