सौर्यबत्तीले झलमल्ल बन्यो दार्चुलाको मुख्य राजमार्ग

प्रकाशित मिति:

काठमाडौैं । विद्युत् भार कटौती (लोडसेडिङ) का कारण रातिको समयमा अन्धकार हुने दार्चुलाका सडकहरू सौर्यबत्ती (सोलार लाइट) जडान गरिएसँगै झलमल्ल बनेका छन्। महाकाली नगरपालिका–९ को बेतदेखि सदरमुकाम खलङ्गा हुँदै वडा नं १ को श्रीबगडसम्मको मुख्य राजमार्गमा सौर्यबत्ती जडान गरिएपछि रात्रिकालीन आवतजावत सुरक्षित र सहज बनेको हो।

सुदूरपश्चिम प्रदेश सरकारको समपूरक अनुदानमा महाकाली नगरपालिकाले सौर्य ऊर्जामार्फत सडक बत्ती जडान कार्य सम्पन्न गरेको नगरपालिकाका सूचना अधिकारी युवराज जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार बेतदेखि खलङ्गासम्मको सडक खण्डमा कुल २०७ वटा सौर्यबत्ती जडान गरिएको छ। “केन्द्रीय प्रसारणको विद्युत् अवरुद्ध हुँदा पनि अब मुख्य सडक अन्धकार हुने छैनन्,” सूचना अधिकारी जोशीले भन्नुभयो, “यसबाट रातिको समयमा हुन सक्ने सम्भावित सडक दुर्घटना र आपराधिक गतिविधि न्यूनीकरणमा ठुलो सघाउ पुग्ने अपेक्षा राखेका छौँ।”

नगरपालिकाका अनुसार यस पूर्वाधार विकासका लागि प्रदेश सरकारले कुल दुई करोड ६४ लाख रुपैयाँ समपूरक अनुदान उपलब्ध गराएको थियो। नगरपालिकाले खुला बोलपत्र आह्वान गरी एक करोड ४१ लाख ९१ हजार ४७० रुपैयाँ लागतमा अल्ट्रा इन्फोसिससँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताको सर्त र तोकिएको समयसीमा भित्रै सम्बन्धित निर्माण कम्पनीले सबै क्षेत्रमा सौर्यबत्ती जडानको कार्य सम्पन्न गरिसकेको नगरपालिकाले जनाएको छ। सडक उज्यालो भएसँगै स्थानीय व्यवसायी र पैदलयात्रु निकै हर्षित भएका छन्।

ताजा समाचार