सुदूरपश्चिम सरकारमा कांग्रेसका मन्त्री फेरिँदै, आजै शपथ

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक शक्ति सन्तुलन मिलाउन सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसका तर्फबाट सहभागी पाँच जना मन्त्री फेरिने भएका छन्। संसदीय दलमा चुलिएको विवाद समाधानका लागि केन्द्रबाट खटिएका सहमहामन्त्री उदयशम्शेर राणा र केन्द्रीय सदस्य राजन केसीको मध्यस्थतामा शनिबार साँझ यस्तो सहमति जुटेको हो। सहमतिअनुसार तीन मन्त्री र दुई राज्यमन्त्रीका ठाउँमा नयाँ अनुहारलाई सरकारमा पठाइनेछ र उनीहरूको शपथग्रहण आजै गराउने तयारी छ। यसअघि असन्तुष्ट पक्षले मुख्यमन्त्री कमलबहादुर शाहलाई नै हटाउने कसरत गरे पनि अन्ततः केन्द्रको रोहबरमा मुख्यमन्त्रीको पद यथावत् राख्दै मन्त्री मात्रै परिवर्तन गर्ने मध्यमार्गी निर्णय भएको कांग्रेस प्रदेशसभा सदस्य दिवानसिंह विष्टले जानकारी दिनुभयो।

नयाँ शक्ति सन्तुलन अनुसार असन्तुष्ट विष्ट पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउनेछ भने मुख्यमन्त्री शाहले आर्थिक मामिला मन्त्रीसहित एक राज्यमन्त्री आफ्नो समूहबाट नियुक्त गर्नुहुनेछ। नयाँ मन्त्रीहरूमा विष्ट पक्षबाट पदमबहादुर शाही, मानबहादुर रावल र बेलबहादुर रानाको नाम चर्चामा छ भने मुख्यमन्त्रीका तर्फबाट विक्रमसिंह धामीलाई आर्थिक मामिला मन्त्री बनाउने सम्भावना छ। त्यस्तै राज्यमन्त्रीमा विष्ट पक्षबाट गीता चौधरी र ललिता सुनारमध्ये एक जना तथा मुख्यमन्त्री पक्षबाट डम्मरी महरा (रक्षा) को नाम तय भएको बुझिएको छ। असन्तुष्ट समूहको नेतृत्व गर्नुभएका नेता विष्ट आफैँ भने सरकारमा सामेल हुनुहुने छैन।

हाल प्रदेश सरकारमा कांग्रेसबाट बहादुरसिंह थापा (आर्थिक मामिला), मेघराज खड्का (सामाजिक विकास) र शिवराज भट्ट (उद्योग, पर्यटन) मन्त्री हुनुहुन्छ भने सरस्वती खड्का र प्रकाशबहादुर वम राज्यमन्त्री हुनुहुन्छ। सुदूरपश्चिममा कांग्रेसका कुल १८ प्रदेशसभा सदस्यमध्ये एक जना विदेशमा रहेकाले हाल १७ जना उपलब्ध छन्। तीमध्ये नौ जना सांसदले मुख्यमन्त्री शाहविरुद्ध हस्ताक्षर बुझाएपछि विवाद उत्कर्षमा पुगेको थियो, तर पछि महराले हस्ताक्षर फिर्ता लिएसँगै समीकरण बदलिएको थियो। अन्ततः दलभित्रको यही अंकगणितीय दबाबका कारण पार्टीले मन्त्रिपरिषद् पुनर्गठन गरेर विवाद निरूपण गरेको हो।

ताजा समाचार