कञ्चनपुर । बढ्दो वातावरणीय चुनौती र जलवायु सङ्कटविरुद्ध लड्न कञ्चनपुरका युवाहरूले ऐक्यबद्धता जनाएका छन्। विश्व वातावरण दिवसका अवसरमा शुक्लाफाँटा नगरपालिकाको समन्वय तथा निड्स नेपालको व्यवस्थापनमा शनिबार सम्पन्न पालिकास्तरीय युवा सम्मेलनमा सहभागीहरूले चुरे विनाश, अत्यधिक गर्मी (लू) र प्लास्टिक प्रदूषणका कारण कञ्चनपुर गम्भीर जोखिममा परेको निष्कर्ष निकाल्दै सामूहिक प्रतिबद्धता जनाएका हुन्। सम्मेलनले वातावरणीय अभियानलाई अघि बढाउन सन्तोष धामीको संयोजकत्वमा ११ सदस्यीय ‘जलवायु उत्थानशील युवा मञ्च’ समेत गठन गरेको छ।
सम्मेलनलाई सम्बोधन गर्दै शुक्लाफाँटाका नगरप्रमुख रणबहादुर महराले वातावरण जोगाउने दायित्व सरकारको मात्र नभई युवाहरूको साझा कर्तव्य भएको उल्लेख गर्नुभयो। त्यस्तै उपप्रमुख कल्पना पन्तले बदलिँदो वर्षाको स्वरूप र चुरे क्षयीकरणले कृषि र जलस्रोतमा पार्ने असरबारे चिन्ता व्यक्त गर्नुभयो। प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले स्वस्थ जीवनशैली र प्रकृतिसँगको सम्बन्धबारे चर्चा गर्नुभएको सो कार्यक्रममा कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्र भण्डारीले युवा पलायन रोक्दै उनीहरूलाई स्थानीय विकास र वातावरण संरक्षणमा अवसर दिनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा केशवराज पन्त र सरस्वती पुरी बम लगायतका अभियन्ताहरूले जैविक विविधता तथा प्लास्टिकजन्य प्रदूषण न्यूनीकरणबारे प्रस्तुति राख्नुभएको थियो।
नगरपालिकाका १२ वटै वडाका ७० जना युवा सहभागी सो सम्मेलनले एक विस्तृत प्रतिबद्धतापत्र जारी गरेको छ। जसअनुसार युवाहरूले घर र समुदायस्तरमै फोहरको वर्गीकरण गर्ने, एकल प्रयोगका प्लास्टिकलाई विस्थापन गर्ने, बाँझो जग्गामा वृक्षारोपण गर्ने र मानव-वन्यजन्तु सहअस्तित्वका लागि जनचेतना जगाउने संकल्प गरेका छन्। यसका साथै युवा समूहले वातावरणीय एजेन्डाका अलावा समाजमा विद्यमान कुरीति र लागूऔषध दुव्र्यसनविरुद्ध समेत सचेतना अभियान सञ्चालन गर्ने सामूहिक अठोट व्यक्त गरेको छ।



