कञ्चनपुर। प्रहरीले कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट भन्सार छली गरेर भित्र्याइएका लाखौँ मूल्य बराबरका अवैध सामान बरामद गरेको छ। भारतबाट लुकिछिपी ल्याइएका ती सामानहरू शनिबार प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिक र भजनी नगरपालिका–७ हिक्मतपुरबाट करिब १ लाख ३९ हजार ४५० रुपियाँ बराबरका सामान बरामद गरेको छ। बरामद गरिएका सामानहरूमा चिनी, पेय पदार्थ, कुरकुरे, साडी, सुटपिस, तन्ना, सुपारी र प्लास्टिकका झिल्ली लगायत रहेका छन्।
यसैगरी, कञ्चनपुरको भीमदत्त नगरपालिका–५ तिनतारा र वडा नम्बर ११ गड्डाचौकीबाट पनि अवैध रूपमा भित्र्याइएका साडी तथा किराना सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको टोलीले करिब १ लाख ३३ हजार रुपियाँ बराबरका ती सामान नियन्त्रणमा लिएको हो। बरामद गरिएका सबै सामानलाई आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालय बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।



