परराष्ट्रमन्त्री खनालको भारत भ्रमण: दुई देशबीचको सहकार्य र आपसी विश्वासमा नयाँ ऊर्जा

प्रकाशित मिति:

काठमाडौं । वर्तमान सरकार गठन भएपछि पहिलोपटक भारतको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी डा. एस जयशङ्करबीच शनिबार नयाँदिल्लीमा प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भएको छ। भारतीय विदेशमन्त्री डा. जयशङ्करको निमन्त्रणामा मन्त्री खनाल गत शुक्रबार नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो।

परराष्ट्र मन्त्रालयका अनुसार द्विपक्षीय वार्तामा नेपाल र भारतबीचको समग्र सम्बन्धको समीक्षा हुनुका साथै विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा गहन छलफल भएको छ। दुवै मन्त्रीले नवप्रवर्तन, नवउद्यम, डिजिटल एवं वित्तीय क्षेत्रमा भइरहेका सहकार्यको स्वागत गर्दै साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कानुनी सहायता सम्झौता र डिजिटल सहकार्य

वार्ताका क्रममा नेपाल–भारत पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागि आवश्यक आन्तरिक प्रक्रिया पूरा भएकामा दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्। यस सम्झौताले सीमापार अपराध नियन्त्रण, अनुसन्धान र न्यायिक कारबाहीलाई थप प्रभावकारी बनाउन संस्थागत मार्गप्रशस्त गर्ने विश्वास लिइएको छ।

वित्तीय क्षेत्रलाई सहज बनाउन दुवै देशका मन्त्रीले भारतको एकीकृत भुक्तानी प्रणाली (युपिआई) र नेपालको राष्ट्रिय भुक्तानी प्रणाली (एनपिआई) बीच सिधा अन्तरआबद्धताको संयुक्त रूपमा शुभारम्भ गर्नुभयो। यसले सीमापार व्यक्तिगत विप्रेषण प्रवाहलाई थप सरल र सुलभ बनाउनेछ। यस्तै, काठमाडौँ विश्वविद्यालय र भारतको डिजिटल ‘भाषिनी’ डट इनबीच स्वचालित भाषा अनुवाद मञ्च विकास गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

परियोजना हस्तान्तरण तथा उच्चस्तरीय भेटवार्ता

द्विपक्षीय वार्तापछि भारतीय विदेशमन्त्री डा. जयशङ्करले सन् २०१५ को भूकम्पपछिको पुनःनिर्माण सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारको सहयोगमा सम्पन्न ७२ वटा स्वास्थ्य संस्था र १२ वटा सांस्कृतिक सम्पदा क्षेत्रका परियोजना नेपाललाई हस्तान्तरण गर्नुभयो।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुभएको छ। भारतको ‘छिमेक पहिले’ नीति अनुरूप भएको यस भ्रमणले दुई देशबीचको परम्परागत सम्बन्धलाई थप ऊर्जावान् र विश्वासिलो बनाएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

ताजा समाचार