काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोगहरू गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको भन्दै यसको सामनाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। विश्व खाद्य स्वच्छता दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले स्वच्छ खानपानको सुनिश्चिततामार्फत नागरिकको स्वास्थ्यमा सुधार ल्याउन सरकार सदैव क्रियाशील रहने उल्लेख गर्नुभयो।
मन्त्री मेहताले खाद्य स्वच्छतालाई सुदृढ बनाउन सरकारले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को प्रभावकारी कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट पार्नुभयो। यसका साथै खाद्य परीक्षण प्रयोगशालाको सुदृढीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत सुधारका कार्यहरूलाई तीव्रता दिइने उहाँको शुभकामना सन्देशमा उल्लेख छ।
असल अभ्यास र सरोकारवालाको दायित्व
खाद्यपदार्थको उत्पादनदेखि उपभोगसम्मका सबै प्रक्रियामा स्वच्छता कायम राख्नु सरकारको मुख्य जिम्मेवारी भएको उल्लेख गर्दै मन्त्री मेहताले यसका लागि असल कृषि अभ्यास, असल उत्पादन अभ्यास र उचित भण्डारण जस्ता विधिहरू अवलम्बन गर्न जरुरी रहेको औँल्याउनुभयो। यस्ता असल अभ्यासले बजारमा गुणस्तरीय खाद्यपदार्थको उपलब्धता सुनिश्चित गर्नुका साथै अस्वस्थकर खानपानबाट हुने मानवीय क्षति र आर्थिक भारलाई कम गर्ने उहाँको भनाइ छ।
दिवसका अवसरमा मन्त्री मेहताले खाद्य चक्रमा आबद्ध उत्पादक, व्यवसायी तथा उपभोक्तालगायत सम्पूर्ण सरोकारवालालाई स्वच्छ खानपानको महत्त्व आत्मसात् गर्न र आ-आफ्नो भूमिकाप्रति थप जिम्मेवार बन्न प्रेरणा मिलोस् भन्ने कामनासमेत गर्नुभएको छ।
‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’
नेपालसहित विश्वभर आज ‘सबैतिर स्वच्छ खानपान, खाद्यजन्य समस्याको पहिचान’ भन्ने मूल नाराका साथ यो दिवस मनाइँदै छ। विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदन अनुसार विश्वमा प्रत्येक वर्ष ६० करोड मानिस दूषित खानाका कारण बिरामी पर्ने गरेका छन् भने चार लाख २० हजार मानिसले अकालमै ज्यान गुमाउनुपर्ने भयावह अवस्था रहेको छ।



