कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थित विकट बस्ती खल्ला मसेटीमा आइतबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। महेन्द्रनगरमा रहेको महाकाली बहुप्राविधिक शिक्षालयको आयोजनामा सञ्चालित उक्त शिविरबाट स्थानीय ९३ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्।
शिक्षालयका निर्देशक प्रमल साउदका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले शिविर आयोजना गरिएको हो। प्राविधिक शिक्षाका अतिरिक्त शिक्षालयले कञ्चनपुरमा विभिन्न सामाजिक कार्यमा पनि सक्रियता बढाउँदै आएको जानकारी दिँदै निर्देशक साउदले शिविरमा करिब एक लाख रुपैयाँ बराबरको औषधि समेत निःशुल्क वितरण गरिएको बताउनुभयो।
शिविरमा ५४ जना महिला र ३९ जना पुरुषले स्वास्थ्य परीक्षण गराएको चिकित्सक डा. गोविन्द रोकायाले जानकारी दिनुभयो। सेवा लिन आएका बिरामीहरूमा मुख्यगरी छाला, पेट, दम र मधुमेहको समस्या बढी देखिएको थियो। सामान्य स्वास्थ्य परीक्षणका साथै १७ महिला र २१ पुरुष गरी कुल ३८ जनाले प्रयोगशाला (ल्याब) सेवासमेत लिएका थिए।
शिविरको उद्घाटन कार्यक्रममा भीमदत्त नगरपालिकाका प्रमुख पदम बोगटी, शिक्षालयका निर्देशक प्रमल साउद तथा महाकाली प्रादेशिक अस्पतालका डा. अर्जुन भट्टलगायतको उपस्थिति रहेको थियो। दुर्गम बस्तीमै औषधिसहितको विशेषज्ञ सेवा पाएपछि स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्।



