कैलाली। कैलालीका छुट्टाछुट्टै दुई स्थानमा आइतबार साँझ दुई जना पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको धनगढी र लम्कीमा नाम र ठेगाना नखुलेका व्यक्तिहरूको शव भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–९ त्रिवेणीघाटस्थित मोहना नदीको किनारमा एक पुरुषको शव फेला परेको हो। मृत फेला परेका ती व्यक्तिको पहिचान खुल्न बाँकी रहेको छ।
यसैगरी, जिल्लाकै लम्कीचुहा नगरपालिका–३ बल्चौरस्थित रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा अर्का एक पुरुष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ४० देखि ४५ वर्ष उमेर देखिने ती पुरुषको पनि नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले उल्लेख गरेको छ।
दुवै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले शवको पहिचान गर्ने प्रयास गर्नुका साथै आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।



