संसद् अवरोधमा पनि सरकार मौन बस्नु खेदजनक: अर्जुननरसिंह केसी

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले संसद्मा प्रतिपक्षी दलहरूको एकीकृत विरोध हुँदासमेत सरकारले समाधान खोज्न तत्परता नदेखाउनु खेदजनक भएको टिप्पणी गरेका छन्। सोमबार सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता केसीले प्रधानमन्त्रीको अभिव्यक्ति तथा संसद्लाई छल्दै आर्थिक विधेयकमा गरिएको संशोधनप्रति असन्तुष्टि जनाउँदै सरकारको यो कदम सार्वभौम संसद्प्रतिको अनादर भएको बताएका हुन्।

संसद्लाई कमजोर बनाउने र छैटौँ दिनसम्म पनि संसद् अवरोध रहँदा सरकार मौन बस्ने प्रवृत्तिले लोकतन्त्र बलियो हुन नसक्ने बरु यसले निरंकुशता निम्त्याउने उनको भनाइ छ। संसद् विचार, विमर्श र संवादका माध्यमबाट राष्ट्रिय समस्याको समाधान खोज्ने सर्वोच्च लोकतान्त्रिक संस्था भएको उल्लेख गर्दै उनले यसको सुत्राधार र संयोजन सत्ता पक्ष तथा सभामुखले नै गर्नुपर्ने जोड दिएका छन्। जनताको समृद्धि र विकाससँग जोडिएको वार्षिक बजेटमाथि गम्भीर छलफल हुन नसक्नु दुःखद भएको बताउँदै केसीले सरकारले तत्काल सबै पक्षसँग संवाद गरी सहमतिमार्फत निकास खोज्नुपर्ने र त्यो नै संसदीय मर्यादा तथा विधिको शासनको न्यूनतम पालना हुने स्पष्ट पारेका छन्।

ताजा समाचार