काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको मुख्य मन्त्र नेता मिलाउनु भन्दा पनि पार्टीसँग जनतालाई जोड्नुपर्ने बताउनुभएको छ। गोरखामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले पद र प्रलोभनका लागि पार्टी छाड्नेहरूलाई रोक्नतिर लाग्न आवश्यक नरहेको उल्लेख गर्नुभयो। “पार्टीलाई सफा र वैचारिक रूपमा बलियो बनाउनुपर्छ, हिजो गठबन्धनको राजनीतिले ध्वस्त बनाएको अवस्थालाई अब सम्हाल्नुपर्छ,” उहाँले भन्नुभयो।
कांग्रेस सत्ता केन्द्रित भएकाले बिग्रिएको टिप्पणी गर्दै उहाँले अब पार्टीलाई खोपी (अँध्यारो कोठा) बाट बाहिर निकालेर जनताको बीचमा लैजानुपर्नेमा जोड दिनुभयो। नेताहरू रिसाएको भन्दा पनि जनता रिसाएको विषय आफ्ना लागि ठूलो चिन्ताको कुरा भएको बताउँदै उहाँले भन्नुभयो, “नेता मिलाउने हो, तर फकाउने र रिझाउने भनेको जनतालाई हो।” साथै, उहाँले कांग्रेसका ५ लाख सदस्यले सदस्यता अद्यावधिक गरिसकेको जानकारी दिँदै बाँकीलाई पनि तत्काल गर्न आग्रह गर्नुभयो।



