कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीहरूलाई परिणाम देखिने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको छ। मङ्गलबार आयोजित सत्ता गठबन्धन दलको बैठकमा बोल्दै उहाँले आफ्नो जिम्मेवारीप्रति गम्भीर भएर कार्यसम्पादन गर्न मन्त्रीहरूलाई निर्देशन दिनुभएको हो।
मुख्यमन्त्री शाहले जनताले सरकारबाट अपेक्षा गरेको सेवा प्रवाहलाई छिटो, पारदर्शी र उत्तरदायी बनाउन आवश्यक रहेकाले त्यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो। बैठकमा प्रदेश सरकारका गतिविधि, विकास आयोजना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा गठबन्धनका नेताहरूबीच विस्तृत छलफल भएको थियो।



