सुदूरपश्चिम एमालेमा मन्त्री फेरबदल टर्‍यो, कार्यकर्ताद्वारा तालाबन्दी

प्रकाशित मिति:

धनगढी सुदूरपश्चिम प्रदेश सरकारमा नेकपा (एमाले) का तर्फबाट हुने भनिएको मन्त्री फेरबदल अन्तिम समयमा आएर रोकिएपछि पार्टीभित्र आन्तरिक असन्तोष र विवाद चुलिएको छ। आइतबारदेखि मन्त्री परिवर्तनको चर्चा तीव्र बने पनि अन्तिम घडीमा प्रक्रिया रोकिएपछि प्रदेश नेतृत्वदेखि कार्यकर्ता तहसम्म अन्योल र असन्तुष्टि बढेको हो।

पार्टी स्रोतका अनुसार अध्यक्ष केपी शर्मा ओलीको तहबाट नयाँ मन्त्रीहरूको नाम र जिम्मेवारीबारे सहमति जुटिसकेको थियो। सोहीअनुसार संसदीय दलका नेता राजेन्द्रसिंह रावलले शपथ ग्रहणको आवश्यक तयारीसमेत अघि बढाउनुभएको थियो। तर, अन्तिम समयमा आएर निर्णय कार्यान्वयन हुन सकेन।

एमालेका केही नेताहरूका अनुसार मन्त्री हेरफेर रोकिनुमा पार्टी महासचिव शंकर पोखरेल पक्षको असन्तुष्टि र दबाब मुख्य कारण रहेको दाबी गरिएको छ। यद्यपि, एमालेले यसबारे कुनै औपचारिक धारणा भने सार्वजनिक गरेको छैन।

यसअघि सन्तोष थापा शर्मा, जानकी ऐर बम, चक्र मल्ल र दमन भण्डारीलाई मन्त्री बनाउने तथा हालका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र पाललाई प्रमुख सचेतक र निर्मला साउदलाई संसदीय दलको उपनेता बनाउने तयारी गरिएको चर्चा थियो।

अन्तिम समयमा निर्णय रोकिएपछि आक्रोशित बनेका कार्यकर्ता तथा समर्थकहरूको समूहले सोमबार संसदीय दलको कार्यालयमा नाराबाजी गर्नुका साथै तालाबन्दीसमेत गरेका छन्। पछिल्लो समय संसदीय दलका नेता रावलको कार्यशैलीलाई लिएर समेत पार्टीभित्र आलोचना बढ्न थालेको छ।

ताजा समाचार