दार्चुला । दार्चुलामा गस्तीमा निस्किएका एक प्रहरी जवानको पानीघट्टाको कुलोमा चिप्लिएर लड्दा दुःखद निधन भएको छ। नौगाड गाउँपालिकास्थित होपरीगाड प्रहरी चौकीमा कार्यरत अन्दाजी २५ वर्षीय प्रहरी जवान खेमराज भट्टको उपचारका क्रममा मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हेमराज भट्टका अनुसार नौगाड गाउँपालिका–५, होपरी क्षेत्रमा गएराति १० बजेतिर नियमित गस्ती सकेर चौकीतर्फ फर्किने क्रममा जवान भट्ट अचानक कुलोमा चिप्लिएर लड्नुभएको थियो। दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका भट्टलाई तत्काल उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याइएको थियो।
अस्पतालमा उपचारकै क्रममा बुधबार बिहान २:१० बजे चिकित्सकले उहाँलाई मृत घोषित गरेको प्रहरी निरीक्षक भट्टले जानकारी दिनुभयो। मृतक प्रहरी जवान भट्टको स्थायी घर छिमेकी जिल्ला बैतडी रहेको प्रहरीले जनाएको छ।



