भारतमा आकर्षक जागिरको प्रलोभन देखाएर नेपाली ठग्ने गिरोहका १२ जना पक्राउ

प्रकाशित मिति:

धनगढी । भारतमा आकर्षक रोजगारी र उच्च पारिश्रमिकको झुटा आश्वासन दिएर नेपाली युवाहरूलाई नेटवर्किङ व्यवसायमा आबद्ध गराई ठगी गर्ने गिरोहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालका विभिन्न ९ जिल्लाका यी आरोपीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको संयुक्त टोलीले भारतीय प्रहरी तथा नेपाली दूतावासको समन्वयमा पक्राउ गरी नेपाल ल्याएको हो।

पक्राउ पर्नेहरूमा गुल्मीका विक्रम परियार र प्रभास विक, सप्तरीका रामबालक मण्डल, काभ्रेपलाञ्चोकका सुमन घिमिरे, रित भुजेल र दीपेश तामाङ सिङतान रहेका छन्। यसैगरी अर्घाखाँचीका पंकज विश्वकर्मा, ओखलढुङ्गाका धिरज सुनुवार, पर्वतका दिनेश काफ्ले, मकवानपुरका प्रकाश अर्याल, पाल्पाका सुरज गोतामे र रुपन्देहीका सागर विकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार, कैलालीका चक्रबहादुर साउदसहितका व्यक्तिहरूले युवाहरूलाई भारतको उत्तर प्रदेशस्थित ‘विन्सपायर वर्ल्ड कम्पनी’ मा काम लगाइदिने बहानामा ठगी धन्दा चलाइरहेको विशेष सूचनाका आधारमा यो कारबाही अघि बढाइएको थियो।

बन्धक शैलीको तालिम र असुली धन्दा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ओमबहादुर रानाका अनुसार गिरोहले नेपाली युवाहरूलाई भारत पुर्‍याएपछि सात दिनसम्म तालिमका नाममा मानसिक तथा भावनात्मक रूपमा नियन्त्रणमा लिने गरेको खुलेको छ। उनीहरूलाई कम्पनीको होस्टेलमा बाह्य सम्पर्कविहीन बनाएर राख्ने, मोबाइल खोस्ने र कडा निगरानी गर्ने गरिएको थियो। सुरुमा सामान्य कामका लागि प्रतिव्यक्ति १० हजार भारतीय रुपैयाँ असुलेर पछि क्रमशः ‘क्लास’ र ‘नेटवर्क विस्तार’ मा बाध्य पारिने अनुसन्धानबाट खुलेको छ। नयाँ सदस्य थपेबापत मासिक ३५ देखि ४० हजार भारु तलब र थप मानिस भित्र्याए प्रतिव्यक्ति तीन लाख रुपैयाँसम्म आम्दानी हुने लोभ देखाई प्रतिव्यक्ति एक लाख भारुसम्म जम्मा गर्न लगाइएको उजुरीमा उल्लेख छ।

दूतावासको सहयोगमा उद्धार र कानुनी कारबाही आफूहरू ठगी र मानसिक प्रताडनामा परेको भन्दै पीडितहरूले गत जेठ २२ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दर्ता गराएका थिए। लगत्तै सुदूरपश्चिम प्रदेश प्रहरीको समन्वयमा भारतीय प्रहरी, नेपाली दूतावास र स्थानीय संस्थाहरूको सहयोगमा भारतको देहरादुनमा बन्धक जस्तै बनाइएका पीडितहरूको उद्धार गरिएको थियो।

घटनामा संलग्न आरोपीहरू नेपाल फर्किने क्रममा असार २५ गते साँझ महेन्द्रनगरस्थित गड्डाचौकी नाकाबाट पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दका अनुसार पक्राउ परेकाहरूविरुद्ध ठगी मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य फरार अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ।

ताजा समाचार