नेपाली महिला क्रिकेट टोलीको एशिया कप यात्रा समाप्त

प्रकाशित मिति:

काठमाडौं । मलेशियामा जारी एसीसी महिला प्रिमिअर कप अन्तर्गत बुधवार भएको क्वार्टर फाइनल खेलमा थाइल्यान्डसँग ५६ रनले पराजित हुँदै नेपाली राष्ट्रिय महिला क्रिकेट टोली प्रतियोगिताबाट बाहिरिएको छ। एशिया कप छनोटको रूपमा रहेको यस प्रतियोगिताको महत्त्वपूर्ण खेलमा नमिठो हार बेहोरेसँगै नेपालको एशिया कप खेल्ने सपनामा पूर्णविराम लागेको छ। यसअघि पहिलो प्रतियोगितामा चीनसँग पराजित हुन पुग्दा नेपालको एशियाली खेलकुद खेल्ने ढोका पनि बन्द भइसकेको थियो।

खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको थाइल्यान्डले शानदार प्रदर्शन गर्दै ४ विकेटको क्षतिमा १३० रनको चुनौतीपूर्ण स्कोर खडा गरेको थियो। थाइल्यान्डका लागि विकेटकिपर नानापट खोन्चावान्काईले अविजित ६२ रनको महत्त्वपूर्ण इनिङ खेलिन्।

१३१ रनको लक्ष्य पछ्याएको नेपाली ब्याटिङ लाइन पुन: एक पटक धरासायी हुन पुग्यो। नेपाली टोली ७ विकेटको क्षतिमा ७४ रनमा मात्र सीमित भएपछि खेलमा कुनै पनि बेला जितको छनक देखिन सकेन। खेलको अन्तिम समयमा रुबिना क्षेत्रीले २० रन र सीता रानामगरले १२ रन जोड्दै टोलीलाई सस्तोमै आउट हुनबाट जोगाएका थिए।

नेपालका लागि सम्झना खड्काले १२ रन, सोनी पाख्रिनले १५ रन र कप्तान इन्दु वर्माले ७ रन बनाइन्। फेरि एक पटक असफल हुने क्रममा उपकप्तान पूजा महतोले २ रन मात्र जोडिन भने कविता कुँवर १ रन, कविता जोशी ४ रन र रुबि पोडार शून्य रनमा आउट भइन्। नेपाललाई पन्छाउँदै सेमिफाइनलमा पुगेको थाइल्यान्ड भने एशिया कपका लागि छनोट भएको छ।

एशियन प्रिमिअर कपको यस यात्रामा नेपालले सुरुका दुई खेलमा कतार र भुटानलाई पराजित गरेको थियो। तर भुटानविरुद्धको खेलमा भएको ‘टाइम्ड आउट’ निर्णयका कारण नेपाली टोली आलोचित बन्न पुगेको थियो। त्यस्तै, अर्को खेलमा हङ्‌कङसँग प्रतिस्पर्धा गर्दा नेपाल ४० रनको न्यून स्कोरमा अलआउट हुन पुगेको थियो।

ताजा समाचार