गेटा आँखा अस्पतालमा विवाद चर्कियो: कर्मचारी र स्थानीय आन्दोलित

प्रकाशित मिति:

धनगढी सुदूरपश्चिम क्षेत्रको प्रतिष्ठित स्वास्थ्य संस्था गेटा आँखा अस्पतालमा कर्मचारी, स्थानीय बासिन्दा र अस्पताल प्रशासनबीचको विवाद उत्कर्षमा पुगेको छ। अस्पताल व्यवस्थापन र प्रशासनले वेथिति, विभेद तथा अपारदर्शिता बढाएको आरोप लगाउँदै कर्मचारी र स्थानीय सरोकारवालाहरू आन्दोलनमा उत्रिएपछि ४३ वर्ष लामो इतिहास बोकेको यो संस्थाको सेवा प्रवाह र भविष्यमाथि चिन्ता व्यक्त गर्न थालिएको छ।

नेपाल नेत्रज्योति संघ अन्तर्गत सन् १९८२ मा स्थापना भएको यस अस्पतालले सुदूरपश्चिम, लुम्बिनी, कर्णाली प्रदेश र छिमेकी मुलुक भारतका विभिन्न क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ। अस्पताल र मातहतका २६ वटा उपचार केन्द्रमा हाल करिब १६० जना कर्मचारी कार्यरत छन् भने गेटामा मात्रै दैनिक चारदेखि पाँच सय बिरामीले सेवा लिने गरेका छन्।

कर्मचारी र स्थानीयका माग नेपाल सरकारले आर्थिक वर्ष २०८२/८३ मा वृद्धि गरेको मासिक तीन हजार रुपैयाँ महङ्गी भत्ता नपाएको भन्दै जेठ ४ गतेदेखि कर्मचारीले आन्दोलन सुरु गरेका थिए। हाल सो आन्दोलनमा स्थानीय बासिन्दासमेत मिसिएका छन्। आन्दोलित कर्मचारीहरूले सेवा अवरुद्ध नगरी १८ बुँदे माग अघि सारेका छन्, जसमा निर्णय प्रक्रियामा कर्मचारी प्रतिनिधित्व, स्थायी तथा बढुवाको स्पष्ट मापदण्ड, र पक्षपातपूर्ण निर्णयहरूको खारेजी समेटिएका छन्।

यस्तै, जेठ १९ गते गठित ‘गेटा आँखा अस्पताल संघर्ष समिति’ मार्फत स्थानीयहरूले १२ बुँदे माग अघि सारेका छन्। उनीहरूले उमेर हद नाघेका कर्मचारीको अवकाश, व्यवस्थापन समितिमा ५० प्रतिशत स्थानीय प्रतिनिधित्व र खरिद प्रक्रियामा पूर्ण पारदर्शिताको माग गर्दै तीन दिनभित्र सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन्।

अस्पताल प्रशासनको दाबी अस्पताल प्रशासनले भने कर्मचारीहरूले अत्यावश्यक सेवा अवरुद्ध गर्दै अमर्यादित व्यवहार प्रदर्शन गरेको दाबी गरेको छ। केन्द्रको निर्देशनानुसार जेठ १५ पछि वर्षभरिको महङ्गी भत्ता एकैपटक उपलब्ध गराउने जानकारी दिँदादिँदै पनि प्रमुख मेडिकल निर्देशक र प्रमुख प्रशासकलाई कार्यकक्षबाट निकालेर तालाबन्दी गरिएको प्रशासनको भनाइ छ।

प्रशासनका अनुसार यो विवादको मुख्य जड महङ्गी भत्ता नभई विगतमा गरिएको नियमसंगत सरुवा रोक्ने प्रयास हो। विना विज्ञापन करारमा प्रवेश गरी पछि स्थायी भएका र हाल कर्मचारी युनियनका अध्यक्ष रहेका एक कर्मचारीलाई दुई वर्षअघि धनगढी सरुवा गरिएकोमा हालसम्म हाजिर हुन नगएको र स्पष्टीकरण सोधिएपछि विवादलाई भड्काइएको प्रशासनको दाबी छ। यसैबीच, विवाद समाधानका लागि भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय सांसद ज्ञानेन्द्र महता समेत अस्पताल पुग्नुभएको थियो।

सेवासुविधा र सुशासनको प्रश्न आन्दोलन चर्किए पनि गेटा आँखा अस्पतालका कर्मचारीहरूले आकर्षक सेवासुविधा पाइरहेको तथ्याङ्कले देखाउँछ। सरकारी कर्मचारीले वर्षमा १३ महिनाको तलब पाउने भए पनि यहाँका कर्मचारीले वर्षमा १६ महिनाको तलबका साथै विभिन्न भत्ता र बीमा सुविधा पाउने गरेका छन्।

यद्यपि, अस्पतालमा विगतमा खुला विज्ञापन नगरी कर्मचारी भर्ना गरिएको र एकै परिवारका धेरै सदस्यहरू कार्यरत रहेको भन्दै स्थानीय स्तरबाट सुशासन र पारदर्शिताको प्रश्न समेत उठाइएको छ। दैनिक सयौँ विपन्न बिरामीले सेवा पाउने यस अस्पतालको आन्तरिक किचलो समयमै समाधान नभए संस्थाकै साख गिर्ने खतरा बढेको छ।

ताजा समाचार