सामाजिक सुरक्षा कोषको सुविधा अब निसर्ग अस्पतालबाट

प्रकाशित मिति:

धनगढी । धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिक तथा योगदानकर्ताहरूका लागि कोष अन्तर्गतको विशेष स्वास्थ्य उपचार सेवा प्रवाह गर्न थालेको छ। गुणस्तरीय स्वास्थ्य सेवासँगै कोषको यो सुविधा उपलब्ध भएसँगै सुदूरपश्चिम क्षेत्रका हजारौँ श्रमिक तथा उनीहरूका परिवार प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्। अस्पतालका प्रशासन प्रमुख रामप्रसाद ओझाका अनुसार सामाजिक सुरक्षा कोषमा सूचीकृत नागरिकहरूलाई अस्पतालले व्यवस्थित रूपमा उपचार सेवा प्रदान गरिरहेको छ। यो व्यवस्थाले स्वास्थ्योपचारका क्रममा श्रमिकहरूमा पर्ने ठूलो आर्थिक भारलाई उल्लेख्य रूपमा कम गर्ने विश्वास लिइएको छ।

कोषमा नियमित योगदान गर्दै आएका व्यक्तिहरूले निसर्ग अस्पतालमा उपचार गराउँदा तोकिएको मापदण्डबमोजिम कुल खर्चको ८० प्रतिशत रकम सामाजिक सुरक्षा कोषबाट व्यहोरिने छ भने बाँकी २० प्रतिशत रकम मात्र सेवाग्राही स्वयंले भुक्तानी गर्नुपर्नेछ। औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना अन्तर्गत आबद्ध योगदानकर्ताले एक आर्थिक वर्षमा अधिकतम एक लाख रुपैयाँसम्मको उपचार सुविधा प्राप्त गर्न सक्नेछन्। तर, यो सुविधा लिनका लागि श्रमिकले कोषमा कम्तीमा तीन महिना नियमित योगदान गरेको हुनुपर्ने प्रावधान छ। अस्पतालबाट उपचार सेवा लिएपछि चिकित्सकको प्रेस्क्रिप्सन, औषधि तथा उपचारसम्बन्धी सक्कल बिल र सामाजिक सुरक्षा कोषको परिचयपत्रलगायत आवश्यक कागजात पेश गरी दाबी प्रक्रिया पूरा गर्न सकिने अस्पतालले जनाएको छ। यो सेवाको सुरुवातसँगै सुदूरपश्चिमका न्यून तथा मध्यम आय भएका श्रमिक वर्गलाई औषधि उपचारमा ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

ताजा समाचार