कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलको उत्तरतर्फको ड्याम (गाइडबण्ड) पुनर्निर्माणमा शनिबारदेखि नेपाली सेना खटिएको छ। आसन्न वर्षात्मा हुन सक्ने सम्भावित क्षति कम गर्न र तटीय बस्ती जोगाउन सरकारले सेना परिचालन गरेको हो।
यसअघि शुक्रबार पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले क्षतिग्रस्त क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए। लगत्तै सडक डिभिजन कार्यालय कञ्चनपुरको अगुवाइमा श्री नं २५ बाहिनी अड्डा भगतपुर ब्यारेकका सैनिक प्राविधिकसहितको टोली योजनास्थलमा खटिएको छ। सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेशकुमार यादवका अनुसार गत वर्षको बाढीले गाइडबण्डको करिब ३०० मिटर क्षेत्रमा क्षति पुर्याएको थियो। सेनाले जनशक्ति उपलब्ध गराएको र कार्यालयले मेसिनरी तथा प्राविधिक सहयोग गरेको यादवले बताए।
पुलको ९५ प्रतिशत निर्माण सकिए पनि गाइडबण्डको नयाँ डिजाइन स्वीकृति र प्राविधिक मूल्यांकनको विषय किनारा नलाग्दा निर्माण कम्पनी कामबाट बाहिरिएको छ। हाल निर्माण व्यवसायी र सडक विभागबीचको यो मुद्दा मध्यस्थ न्यायाधीकरण (आर्बिटेसन) मा छलफलका क्रममा रहेको छ।



