महाकाली कोरिडोरका लागि बजेट विनियोजन

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर नाका जोड्ने महाकाली कोरिडोरका लागि सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३९ करोड ४० लाख रुपियाँ विनियोजन गरेको छ। यो बजेट चालु आर्थिक वर्षको भन्दा १६ करोड ४३ लाख रुपियाँ बढी हो।

महाकाली कोरिडोर सडक योजनाका सूचना अधिकारी एवं इन्जिनियर दिनेश रैखोलाका अनुसार ४१३ किलोमिटर कुल लम्बाइ रहेको यस कोरिडोरको हालसम्म २८७.५ किलोमिटर ट्र्याक खुलिसकेको छ भने ४७ किलोमिटर ट्र्याक खोल्न बाँकी छ। कोरिडोर अन्तर्गत निर्माण गर्नुपर्ने ३४ वटा पक्की पुलमध्ये हालसम्म एउटा मात्र निर्माण भएको छ भने ३३ वटा पुल बन्न बाँकी छन्।

यसैबीच, कोरिडोर अन्तर्गतकै दार्चुलास्थित तुसारपानीदेखि चीनको ताक्लाकोट जोड्ने ७९ किलोमिटर तिङ्कर सडक खण्डका लागि आगामी वर्ष विनियोजन गरिएको बजेट न्यून भएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि देखिएको छ। सामरिक महत्त्वको यो सडक खण्ड नेपाली सेनाले निर्माण गरिरहेको छ, जसका लागि आगामी वर्ष १२ करोड ९९ लाख रुपियाँ मात्र विनियोजन गरिएको छ।

तिङ्कर नाकासम्म गाडी पुर्‍याउन अझै ५९.२ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको अवस्थामा बजेट पर्याप्त नभएको व्यास गाउँपालिका–५ का वडाध्यक्ष वीरसिंह धामीले बताए। यस्तै, प्रतिनिधि सभा बैठकमा दार्चुलाका सांसद गणेश ठगुन्नाले पनि देश जोड्ने यस्तो महत्त्वको सडकमा कम बजेट विनियोजन हुनु दुःखद भएको उल्लेख गरे। नेपाली सेनाले यो सडक खण्ड आर्थिक वर्ष २०८७/८८ सम्ममा सम्पन्न गर्ने लक्ष्य राखेको छ।

ताजा समाचार