कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले आगामी १५ औँ महाधिवेशनका लागि सञ्चालन गरिएको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थप गरेको छ। पार्टीका महामन्त्री एवं संयोजक प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले हिमाली तथा विकट जिल्ला, जनसम्पर्क समिति र नयाँ सदस्यता वितरणको समयसीमा थप गर्ने निर्णय गरेको हो।

हालसम्म कुल ७ लाख ८२ हजार २०९ क्रियाशील सदस्यमध्ये ६ लाख ८७ हजार ९३१ जनाको विवरण प्रविष्ट भइसकेको समितिले जनाएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्ति अनुसार, अनलाइनमार्फत प्रविष्ट भएका फारामहरू वडा तहबाट यही असार ५ गतेभित्र अनुमोदन गरिसक्न निर्देशन दिइएको छ। तोकिएको समयभित्र वडाले अनुमोदन नगरेमा केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइएको छ।

इन्टरनेटको पहुँच कम भएका उच्च हिमाली क्षेत्र, विकट पहाडी जिल्ला तथा बारा र खोटाङको हकमा असार ७ गतेसम्म समय थपिएको छ। यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका लागि असार १० गते र अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य असार २० गतेसम्मका लागि कायम गरिएको छ।

पार्टी विधान बमोजिम तोकिएको शुल्क नबुझाउने सदस्यले १५ औँ महाधिवेशनको प्रक्रियामा भाग लिन नपाउने निर्णय पनि बैठकले गरेको छ। यसका साथै, ३५ वर्षमुनिका युवाहरूलाई लक्षित गरी ‘युवा केन्द्रित अभियान’ सञ्चालन गर्ने र डिजिटल प्रणालीमा प्रविष्ट विवरणमा त्रुटि भएमा असार मसान्तसम्म सच्याउन सकिने व्यवस्था मिलाइएको छ, जसका लागि सातै प्रदेशका लागि छुट्टाछुट्टै इमेल ठेगाना तोकिएको छ।

ताजा समाचार