कैलाली । सुदूरपश्चिम प्रदेश सभाको सोमबारका लागि तय भएको बैठक अब केही समयमै बस्ने तयारी गरिएको छ। चालू आठौँ अधिवेशनअन्तर्गत अपराह्न ५ बजे बस्ने भनिएको तेह्रौँ बैठक विशेष कारणवश निर्धारित समयमा बस्न नसके पनि अहिले केही समयपछि नै सुरु हुन लागेको हो।
प्रदेश सभा सचिवालयले विशेष परिस्थितिका कारण बैठकको समय केही पर सरेको जानकारी दिँदै अब केही समयमै बैठक सुरु हुने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यहरूलाई संसद् भवनमा उपस्थित हुन सूचित गरेको छ।
स्रोतका अनुसार सत्ता साझेदार प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच बजेट विनियोजनका विषयमा कुरा नमिल्दा मन्त्रिपरिषद् (कैबिनेट) बैठक बस्न ढिलाइ भएको हो। मन्त्रिपरिषद्बाट बजेट स्वीकृत गराउने प्रक्रियामा समय लागेका कारण प्रदेश सभाको बैठक केही समय पछि धकेलिएको बुझिएको छ। बजेट प्रस्तुत गर्ने अन्तिम समय घर्किँदै जाँदा दलहरूबीचको आन्तरिक छलफल र सहमति जुटलगत्तै बैठक सुरु हुन लागेको संसद् सचिवालय स्रोतले जनाएको छ।



