कञ्चनपुरमा धानखेतीका लागि डिएपी मलको अभाव

प्रकाशित मिति:

महेन्द्रनगर। कञ्चनपुर जिल्लामा धानखेतीको सिजन सुरु भएसँगै डिएपी मलको अभाव देखिएको छ। कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय कञ्चनपुरका अनुसार यहाँ सहकारीमार्फत किसानलाई मल बिक्रीवितरण भइरहेको भए पनि माग अनुसार डिएपी मल उपलब्ध हुन सकेको छैन।

कृषि सामग्री कम्पनी लिमिटेडका शाखा प्रबन्धक हेमराज जोशीले कार्यालयबाट हालसम्म ४५० मेट्रिक टन डिएपी र ५०० मेट्रिक टन युरिया मल बिक्री वितरण भइसकेको जानकारी दिए। “हामीसँग भएको मौज्दात मल यहाँका १५० वटा सहकारीमार्फत किसानसम्म पुर्‍याइरहेका छौँ,” प्रबन्धक जोशीले भने, “कञ्चनपुरमा हरेक वर्ष गहुँ र धानखेतीका लागि १०–१० हजार मेट्रिक टन डिएपी र युरिया मल आवश्यक पर्छ।”

कम्पनीले डिएपी प्रतिबोरा दुई हजार ३९४ रुपियाँ र युरिया प्रतिबोरा ९४४ रुपियाँमा बिक्री गरिरहेको जनाएको छ। जिल्लाभरि डिलरसिप लिएका सहकारीमार्फत नै मल वितरण भइरहेको जानकारी दिँदै प्रबन्धक जोशीले मल अभावको विषय देशव्यापी समस्या रहेको र त्यसमा पनि सुदूरपश्चिम प्रदेशको कोटा कम भएको बताए।

उनका अनुसार कञ्चनपुरमा वार्षिक रूपमा करिब ४०० मेट्रिक टन मल अभाव हुने गरेको छ। जिल्लामा सरकारी स्तरबाट मल पर्याप्त नहुँदा खुला सीमानाका कारण विभिन्न स्थानबाट भारतबाट समेत फाटफुट रूपमा मल आयात हुने गरेको स्थानीय किसानहरू बताउँछन्।

ताजा समाचार