सडक सुरक्षामा सरकार गम्भीर हुनुपर्छ : सभापति गजुरेल

प्रकाशित मिति:

काठमाडौं । सङ्घीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिमा सडक सुरक्षा, यातायात व्यवस्थापन, दुर्घटना न्यूनीकरण र पूर्वाधार सुधारका विषयमा केन्द्रित रही सरोकारवाला तथा विज्ञहरूसँग छलफल भएको छ। बैठकमा सांसद तथा विज्ञहरूले बढ्दो सडक दुर्घटना कम गर्नका लागि प्रभावकारी नीतिको कार्यान्वयनमा विशेष जोड दिएका छन्। समिति सभापति आशिष गजुरेलले प्राप्त सुझावहरूलाई कार्यान्वयनमा लैजान समितिले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै सडक सुरक्षा अत्यन्त संवेदनशील विषय भएकाले सरकार यसमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो। सडक सुरक्षासम्बन्धी विधेयक बनेको पाँच वर्ष बितिसक्दा पनि संसद्मा पेस हुन नसकेको र सडक पूर्वाधार समयमै निर्माण नहुँदा समस्या बल्झिएको उल्लेख गर्दै उहाँले अझै पनि व्यवस्थित फुटपाथ र अपाङ्गमैत्री सडक निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो। बैठकमा सांसद सुनिल केसीले सडक निर्माणका क्रममा अव्यवस्थित रूपमा बाटो खन्ने, मर्मतमा ढिलाइ हुने तथा सरोकारवाला निकायबीच समन्वय अभाव हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो। त्यस्तै, सांसद वासना थापाले कर्णाली क्षेत्रमा सडक सञ्चालन अनुमति (रोड परमिट) पाउनै मुस्किल रहेको उल्लेख गर्दै सडक सुरक्षामा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो।

यसैगरी, सांसदहरू भरतकुमार स्वार, पूर्णप्रसाद लिम्बू, धनेन्द्र कार्की र राजु पाण्डेले मुलुकको समृद्धि र आर्थिक विकासका लागि सडक सुरक्षालाई प्राथमिकता दिनुपर्ने विचार व्यक्त गर्नुभयो। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी चापअनुसार पूर्वाधार निर्माण हुन नसकेको औँल्याउँदै सार्वजनिक यातायातका लागि छुट्टै लेन, पार्किङ व्यवस्थापन र दक्ष चालकको आवश्यकता रहेको बताउनुभयो। बैठकमा नेपाल ढुवानी व्यवसायी महासङ्घका अध्यक्ष अरुणकुमार श्रेष्ठले मालवाहक सवारीसाधनको निगरानी र सुरक्षा प्रणालीमा सुधार ल्याउनुपर्ने सुझाव दिनुभयो।

ताजा समाचार