काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोका सम्बन्धमा स्पष्टीकरण दिएकी छन्। गुडिरहेको कारको झ्यालबाट बाहिर निस्किएर रमाइलो गरिरहेको भिडियो सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। सांसद भट्टराईले उक्त भिडियो हालको नभई आफू सार्वजनिक जिम्मेवारी र सरकारी नियुक्तिमा आउनुभन्दा धेरै अघिको निजी क्षण भएको स्पष्ट पारेकी छन्। सार्वजनिक पद धारण गरेको व्यक्तिले पनि आफ्नो निजी जीवन जिउने र व्यक्तिगत स्वतन्त्रताको अधिकार राख्ने उनको तर्क छ। भिडियोमा देखिएको गतिविधि ट्राफिक नियम र सडक सुरक्षाको दृष्टिकोणले उपयुक्त नहुन सक्ने कुरा स्वीकार गर्दै उनले विगतको अनुभवबाट सिक्दै भविष्यमा यस्ता गतिविधि नदोहोर्याउने प्रतिबद्धता जनाएकी छन्। एउटा पुरानो भिडियोका आधारमा चरित्र र जिम्मेवारीबोधको मूल्याङ्कन नगर्न आग्रह गर्दै उनले आफू जनताको विश्वासप्रति पूर्ण प्रतिबद्ध रहेको बताएकी छन्।



