सभामुख अर्याल र बङ्गलादेशी राजदूत रहमानबीच भेटवार्ता

प्रकाशित मिति:

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले बुधबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको उक्त भेटमा दुई देशबीचको आपसी हित र द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै नेपालले यस सम्बन्धलाई उच्च महत्व दिँदै आएको बताए। बङ्गलादेशका जनताको जनादेशका आधारमा गठित नयाँ सरकारलाई शुभकामना दिँदै उनले दुवै देशमा नयाँ सरकार गठन भइसकेको अवस्थामा सहकार्य थप सुदृढ हुने र द्विपक्षीय सम्बन्धले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे। बङ्गलादेशले हासिल गरेको आर्थिक तथा भौतिक विकासको प्रशंसा गर्दै उनले नेपाल र बङ्गलादेशबीचको सहकार्यले दुवै देशका जनताको सुख र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा राखे। खेलकुद क्षेत्र, विशेष गरी फुटबल, क्रिकेट र भलिबलका माध्यमबाट युवा पुस्ताबीच मित्रता र आपसी समझदारी बढेको उनको भनाइ थियो।

भेटमा उनीहरूबीच शिक्षा, स्वास्थ्य, कृषि, जलवायु परिवर्तन तथा क्षेत्रीय सहकार्यका विषयमा विचार विमर्श भएको सभामुखको सचिवालयले जनाएको छ। सो अवसरमा राजदूत रहमानले ऊर्जा, व्यापार, पर्यटन, शिक्षा र स्वास्थ्यका क्षेत्रमा नेपाल र बङ्गलादेशबीच विद्यमान सहकार्यलाई थप विस्तार गर्न बङ्गलादेश सरकार सकारात्मक रहेको बताए। उनले दक्षिण एसियाली क्षेत्रीय सहयोगलाई प्रभावकारी बनाउँदै साझा हितका विषयहरूमा मिलेर काम गर्नुपर्नेमा जोड दिएको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

ताजा समाचार