टीकापुरलाई क्षयरोगमुक्त बनाउन समुदायमै खकार सङ्कलन

प्रकाशित मिति:

कैलाली । कैलालीको टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकमा क्षयरोग भए/नभएको पहिचान गर्न समूह–समूह बनाई खकार सङ्कलन अभियान तीव्र पारिएको छ। क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत नगरपालिकाले जोखिममा रहेका समूहको समुदायमै पुगेर खकार सङ्कलन र परीक्षण थालेको हो।

अभियानअन्तर्गत असार १ र २ गते अस्नेहरी सहरी स्वास्थ्य केन्द्र तथा असार २ र ३ गते टीकापुर–७ नयाँबस्तीमा परीक्षण शिविर आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले जानकारी दिए। लगातार खोकी लागिरहेका मानिसमा क्षयरोग हुन सक्ने भन्दै सङ्क्रमितले रोग लुकाउने र तत्काल उपचारमा नजाने समस्याले समुदायमा जोखिम बढेकाले शिविर चलाइएको उनको भनाइ छ। टीकापुरमा हालसम्म १७४ जना क्षयरोगका बिरामीले औषधि सेवन गरिरहेका छन्। नगरपालिकाले क्षयरोग निवारणका लागि पहिचान, निदान, रोकथाम, उपचार र सहयोगका सबै सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ।

सहरी स्वास्थ्य केन्द्र सत्तीका अहेव गोविन्द कठायतका अनुसार शिविरमा ७० वर्षमाथिका दम तथा श्वासप्रश्वासको समस्या भएका ज्येष्ठ नागरिक र अन्य जोखिममा रहेका समूहको परीक्षणलाई प्राथमिकता दिइएको छ। त्यस्तै जनस्वास्थ्य अधिकृत एन्टोन बजगाइँले जोखिममा रहेका समूहको खकार परीक्षण गरेर समयमै उपचारमा ल्याउने प्रयास भइरहेको बताए। नेपाल सरकारले आर्थिक वर्ष २०७८/७९ देखि सुरु गरेको ‘क्षयरोगमुक्त नेपाल अभियान’ हाल झन्डै १५० पालिकामा विस्तार भइसकेको छ।

ताजा समाचार