काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालय शिक्षालाई समयसापेक्ष, प्रविधिमैत्री र रोजगारमुखी बनाउन सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन्। मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहलाई बुधबार सम्बोधन गर्दै मन्त्री पोखरेलले उच्च शिक्षालाई श्रमबजारको मागसँग जोड्ने गरी पाठ्यक्रम परिमार्जन गरिने बताए।
उनले यसका लागि आवश्यक बजेट, पूर्वाधार र दक्ष जनशक्तिको व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै विश्वविद्यालयबाट हासिल हुने शिक्षा केवल प्रमाणपत्रमा मात्र सीमित नभई रोजगारी, उद्यमशीलता र सामाजिक रूपान्तरणमा सहयोगी हुनुपर्नेमा जोड दिए। कर्णालीका प्राकृतिक तथा सांस्कृतिक स्रोतको अध्ययन–अनुसन्धानलाई विश्वविद्यालयले प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। प्रदेशमा उपलब्ध जलस्रोत, वन, जडीबुटी, पर्यटन तथा सांस्कृतिक सम्पदाको वैज्ञानिक अनुसन्धानमार्फत स्थानीय विकास र आर्थिक समृद्धिमा योगदान पुर्याउन सकिने धारणा उनले राखे।
मन्त्री पोखरेलले मध्यपश्चिम विश्वविद्यालयलाई कर्णालीको शैक्षिक गौरवका रूपमा चित्रित गर्दै स्थापनायता अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल प्रविधि र नवप्रवर्तनका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको भन्दै प्रशंसा गरे। दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै उनले युवापुस्ताले अनुसन्धान र उद्यमशीलताको माध्यमबाट गरिबी, बेरोजगारी र जलवायु परिवर्तनजस्ता चुनौतीको समाधान खोज्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे। गुणस्तरीय शिक्षा र सृजनशील सोचका माध्यमबाट युवा पुस्ताले देशको अर्थतन्त्रलाई थप सबल र प्रतिस्पर्धी बनाउन सक्ने उनको भनाइ थियो।



