काठमाडौं । सरकारले यही असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण सुरु गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने अन्तिम तयारी भइरहेको जानकारी दिए।
अघिल्ला सरकारहरूले भूमि आयोगमार्फत काम गर्दै आएकोमा अहिलेको सरकारले भूमिसम्बन्धी समिति बनाएर सुकुम्वासी व्यवस्थापनको काम अगाडि बढाएको छ। विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको टिप्पणी मन्त्री रावलले गरे। उनका अनुसार बितेका ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि अहिलेसम्म ९ हजारले मात्र लालपुर्जा पाउनु लज्जास्पद अवस्था हो। यही अवस्था अन्त्य गर्न सरकारले संरचनात्मक परिवर्तन गरेको उनले बताए। यसैबीच, काठमाडौँका सुकुम्वासीहरूलाई होल्डिङ सेन्टरमा राख्दा विभिन्न समस्या आएको भन्दै तत्काल उचित व्यवस्थापन गर्नुपर्ने माग सुकुम्वासीहरूले गर्दै आएका छन्।
यस्तै, सहकारी क्षेत्रको समस्याका बारेमा जवाफ दिँदै मन्त्री रावलले समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्न राज्यकोषको एक पैसा पनि खर्च नभएको दाबी गरे। पछिल्लो तीन महिनामा आठ वटा समस्याग्रस्त सहकारीका १ हजार ४५२ जना साना बचतकर्ताको ५९ लाख ४ हजार ६०० रुपैयाँ फिर्ता गरिएको जानकारी उनले दिए। त्यो रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीहरूको सम्पत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको हो। पछिल्लो तीन महिनामा ३ करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भएको र आउँदा दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गरिने उनले बताए।



