शुक्लाफाँटाको मध्यवर्ती क्षेत्रमा प्रकृति संरक्षणमा सेनाको सचेतना

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका विद्यालयहरूमा नेपाली सेनाले प्रकृति संरक्षण तथा मानव र वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । निकुञ्जको सुरक्षार्थ खटिएको रणसिंह दल गणले बेदकोट नगरपालिका–१० चतहरीस्थित रत्न माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई यससम्बन्धी जानकारी दिएको हो ।

रणसिंहदल गणका गणपति प्रमुख सेनानी प्रकाश घिमिरेका अनुसार प्रकृति संरक्षण, मानव र वन्यजन्तुबिचको द्वन्द्व तथा यसका न्यूनीकरणका उपायहरूबारे विद्यार्थीहरूलाई सचेत गराइएको छ । सो अवसरमा कक्षा ८, ९ र १० मा अध्ययनरत १२९ जना छात्रछात्रालाई शैक्षिक तथा खेलकुद सामग्रीसमेत वितरण गरिएको छ । यस्तै, राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यालय प्रमुख लक्ष्मीराज जोशीले इको क्लबमा आबद्ध विद्यार्थीहरूलाई कृषि औजार तथा बोटबिरुवा हस्तान्तरण गरे ।

सेनाले मध्यवर्ती क्षेत्रका स्थानीय विद्यालयका विद्यार्थीहरूलाई समेटेर प्रकृति संरक्षणको महत्त्व, जनावरको आनीबानी, मानवीय व्यवहार र द्वन्द्व न्यूनीकरणका उपायहरूबारे नियमित रूपमा यस्ता कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लबबहादुर विष्ट, बेदकोट नगरपालिका–१० का अध्यक्ष रतनसिंह विष्ट, वेदकोट उपभोक्ता समितिका अध्यक्ष भानुमति खडायत र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर सार्कीलगायतले सचेतनामूलक कार्यक्रमको महत्त्वबारे आ–आफ्नो धारणा राखेका थिए ।

ताजा समाचार