कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा विद्युत् आपूर्तिलाई व्यवस्थित र भरपर्दो बनाउन पुनर्वास सबस्टेशन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ। नेपाल विद्युत प्राधिकरणले $३३/११$ केभी क्षमताको उक्त सबस्टेशन सञ्चालनमा ल्याएसँगै स्थानीय क्षेत्रका करिब १८ हजार ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
यसअघि ठेक्का पाएको निर्माण व्यवसायीले सिभिलतर्फको काम गरे पनि आवश्यक इलेक्ट्रोमेकानिकल कार्य अधुरै छाडेपछि प्राधिकरणले उक्त ठेक्का सम्झौता रद्द गरेको थियो। लामो समयदेखि न्यून भोल्टेज र अनियमित विद्युत् आपूर्तिको समस्या झेल्दै आएका स्थानीय बासिन्दाको व्यापक गुनासोपछि प्राधिकरणले वैकल्पिक प्रक्रियाबाट काम अघि बढाएको हो। प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठका अनुसार उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै तत्काल वैकल्पिक व्यवस्था गरी सबस्टेशन निर्माण कार्य शीघ्र सम्पन्न गर्न निर्देशन दिइएको थियो।
द्रुत गतिको वैकल्पिक प्रयास
कार्यकारी निर्देशकको निर्देशनलगत्तै प्राधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालयको अग्रसरता र बेलौरी वितरण केन्द्रको सक्रियतामा काम अघि बढाइएको थियो। प्राधिकरणले आफ्ना विभिन्न कार्यालयहरूमा उपलब्ध रहेका $६/८$ एमभिए क्षमताको ट्रान्सफर्मर र अन्य आवश्यक उपकरणहरूको उपयोग गरी बाँकी रहेका प्राविधिक तथा जडान कार्य द्रुत गतिमा सम्पन्न गरेको हो।
बेलौरी वितरण केन्द्रको मातहत रहने गरी सबस्टेशन सञ्चालनमा आएसँगै पुनर्वास क्षेत्रको विद्युत् आपूर्ति प्रणाली थप स्थिर, गुणस्तरीय र भरपर्दो हुने विश्वास प्राधिकरणले लिएको छ। कार्यवाहक कार्यकारी निर्देशक श्रेष्ठले यस सबस्टेशनबाट ग्राहकले भोग्दै आएको भोल्टेजको समस्या समाधान हुनुका साथै भविष्यमा बढ्ने विद्युत्को मागलाई व्यवस्थापन गर्न समेत सजिलो हुने बताएका छन्।



