सुदूरपश्चिमको बजेटप्रति प्रतिपक्षीको आपत्ति: खारेजीको माग

प्रकाशित मिति:

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको वार्षिक बजेटप्रति प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। शुक्रबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै नेकपाले वर्तमान बजेट अपारदर्शी, कमजोर र जनविरोधी रहेको दाबी गर्दै यथास्थितिमा यसलाई कुनै पनि हालतमा पारित हुन नदिने स्पष्ट पारेको हो।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा संसदीय दलका नेता खगराज भट्टले सरकारले ल्याएको बजेट नीति, सिद्धान्त र प्राथमिकता विपरीत रहेको आरोप लगाए। उनले बजेटमा सामान्य संशोधन वा सुधार गर्ने ठाउँ समेत नरहेको उल्लेख गर्दै यसलाई पूर्ण रूपमा खारेज गरेर नयाँ बजेट ल्याउनुपर्ने माग गरे। सरकारले मध्यरातमा जनअपेक्षा विपरीत र बिचौलिया पोस्ने गरी बजेट ल्याएको दाबी गर्दै नेता भट्टले यसका विरुद्ध सदन र सडक दुवै तर्फबाट आन्दोलन गर्ने चेतावनी दिए।

बजेट निर्माण प्रक्रियामा गम्भीर त्रुटि भएको आरोप

प्रतिपक्षी दलले बजेट निर्माणका क्रममा व्यापक अनियमितता भएको आरोप लगाएको छ। विभिन्न मन्त्रालयका योजनाहरू अपारदर्शी ढंगले थपघट गरिएको, एउटै योजना फरक-फरक शीर्षकमा दोहोर्‍याइएको र २५ लाख रुपैयाँभन्दा कमका साना योजना नराख्ने भनिए तापनि मापदण्ड मिचेर खुद्रे योजनाहरू समावेश गरिएको प्रतिपक्षीको दाबी छ।

संसदीय दलका नेता भट्टले संसदमा प्रस्तुत गरिएको ३७ अर्ब ६० करोड रुपैयाँको बजेट र उपलब्ध गराइएका अन्य कागजातमा उल्लेखित रकमबीच तालमेल नमिलेको प्रश्न समेत उठाए। उनले मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै साढे दुई करोडभन्दा बढीका योजना राखेर बजेट वितरणमा गम्भीर पक्षपात गरिएको आरोप लगाए।

पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले अपूर्ण बजेट ल्याएर सरकारले औपचारिकता मात्रै निभाउन खोजेको टिप्पणी गरे। बजेट जनभावना विपरीत आएकै कारण आफूहरूले प्रस्तुतीकरणकै क्रममा संसद बहिष्कार गरेको जानकारी दिँदै उनले प्रदेश सभाका सम्पूर्ण सदस्यहरूलाई यो बजेट असफल बनाउन आह्वान गरे।

ताजा समाचार