छत्तीसगढमा गाडीभित्रै थुनेर भाजपा नेतासहित तीन जनालाई जलाइयो

प्रकाशित मिति:

काठमाडौं । भारतको छत्तीसगढ राज्यको कोरिया जिल्लामा अवैध बालुवा उत्खननको विवादले उग्र रूप लिँदा एक क्रूर हत्याकाण्ड भएको छ। सोनहट प्रहरी चौकी अन्तर्गतको नवगाई क्षेत्रमा दुई पक्षबीच वर्चस्वको लडाइँलाई लिएर भएको हिंस्रक झडपमा तीन जनाको जलेर मृत्यु भएको हो। मृत्यु हुनेहरूमा भारतीय जनता पार्टी (भाजपा) का स्थानीय नेता तथा पूर्व जिल्ला पञ्चायत अध्यक्ष भरत सिंह गहरवार र उनका दुई सहयोगी रहेका छन्।

कोरियाका अतिरिक्त प्रहरी उपरीक्षक सुरेश चौबेका अनुसार आक्रमणकारीहरूले योजनाबद्ध ढंगले नेता गहरवार सवार गाडीलाई निशाना बनाएका थिए। उनीहरूले गहरवारको गाडीको अगाडि र पछाडि डम्प ट्रक (टिफर) तेर्स्याएर बाटो रोकेका थिए। गाडीभित्र रहेका व्यक्तिहरू बाहिर निस्कन नपाउँदै आक्रमणकारीहरूले सवारी साधनमा पेट्रोल छर्केर आगो लगाइदिएका थिए। गाडीभित्रै थुनिएका कारण तीनै जनाको जिउँदै जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

प्रहरीले यस विरल र विभत्स घटनामा संलग्न रहेको आरोपमा मनोज त्रिपाठी, अक्षत त्रिपाठी, विशाल त्रिपाठी र सत्यप्रकाश त्रिपाठीलाई पक्राउ गरेको छ। पक्राउ परेका सबै आरोपीहरू एकै परिवारका सदस्य हुन्। घटनामा संलग्न अन्य पाँच जना फरार रहेको र उनीहरूको खोजीका लागि प्रहरीले विशेष टोली परिचालन गरेको जनाएको छ। प्रहरीका अनुसार दुई समूहबीच विगत लामो समयदेखि स्थानीय क्षेत्रमा खानी उत्खनन र वर्चस्व कायम गर्ने विषयलाई लिएर रिसिइबी चल्दै आएको थियो।

ताजा समाचार