बाजुरा। बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिकै आज बिहान एक यात्रीवाहक बस दुर्घटना भएको छ। सुदूरपश्चिम प्रदेश ०२ ००१ ख १३५५ नम्बरको पवनदूत यातायातको बस बिहान करिब ७:२० बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परि बसमा सवार २४ जना यात्री घाइते भएका छन्। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीका अनुसार बसमा कुल ३५ जना यात्री सवार थिए।
घाइतेमध्ये २३ जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बाजुरा पठाइएको छ भने गम्भीर अवस्थाका एक जनालाई अछामको बयलपाटा अस्पताल लगिएको छ।
गुडिरहेको बसको अचानक ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।



