बैतडी जिप दुर्घटना: हामफालेर जोगिए चालक

प्रकाशित मिति:

बैतडी । बैतडीको सिगास गाउँपालिका–२ धौलाडीस्थित कच्ची सडकखण्डमा शनिबार दिउँसो एक जिप दुर्घटना भएको छ। सिगासको बल्लेझुडामा यात्री ओरालेर गान्जरीतर्फ फर्किँदै गरेको सु.प.प्र. ०१–००१ च. ४०२८ नम्बरको जिप दिउँसो करिब साढे १२ बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरज सिंहका अनुसार उकालो सडक खण्डमा गुडिरहेको जिप अचानक अनियन्त्रित भई पछाडि (ब्याक) सर्दा सडकबाट करिब दुई सय मिटर तल खसेको थियो। दुर्घटना हुनुअघि नै चालकले हामफालेका कारण उनको ज्यान जोगिएको छ।

दुर्घटनामा परेर सिगास गाउँपालिका–२ खोल्टेका ३३ वर्षीय चालक गगनसिंह धामी सामान्य घाइते भएका छन्। उनलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाका समयमा जिपमा चालकबाहेक अन्य कोही पनि सवार थिएनन्। दुर्घटनामा जिप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

बैतडीमा पछिल्लो समय सवारी दुर्घटना बढेका छन्। यसअघि गत शुक्रबार मात्रै शाहीलेक क्षेत्रमा यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएका थिए। लगातार भइरहेका सवारी दुर्घटनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले पहाडी सडकहरूमा गाडी चलाउँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार