काठमाडौं । चितवनमा आजदेखि सुरु हुन लागेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापा आफैँ सहभागी हुने भएका छन्। यसअघि कांग्रेसका तर्फबाट उपसभापति डा. पुष्पा भुसाल जाने भनिए पनि अन्तिम समयमा सभापति थापा आफैँ जान लागेका हुन्।
थापाका सचिवालय प्रमुख शंकर कुइँकेलले रास्वपाको महाधिवेशनमा शुभकामना दिन सभापति आफैँ जान लागेको पुष्टि गरे। अन्य दलहरूले तल्लो वरीयताका नेता पठाउने तयारी गरेपछि थापा जाने या नजाने भन्नेमा केही समय अन्योल देखिएको थियो। तर, संसदको ठूलो दलको महाधिवेशनलाई नजरअन्दाज गर्न नहुने भन्दै उनी आफैँ जान लागेको कांग्रेस स्रोतले जनाएको छ। यसअघि थापाले सामाजिक सञ्जालमार्फत पनि रास्वपालाई शुभकामना दिइसकेका छन्।
महाधिवेशनमा शुभकामना दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन चितवन पुगिसकेका छन्। यस्तै, नेकपा (एमाले) ले पूर्वउपमहासचिव प्रदीप ज्ञवाली र नेकपाले सचिवालय सदस्य वर्षमान पुनलाई पठाउने तय भएको छ। श्रम संस्कृति पार्टीले भने महाधिवेशनमा कसलाई पठाउने भन्नेबारे हालसम्म केही खुलाएको छैन।




