काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न पार्टी र समूहबाट समायोजन भएर आएका नेता–कार्यकर्तालाई चुनावी प्रतिस्पर्धा बाहिरैबाट नेतृत्वमा समेट्ने भएको छ। पार्टीमा भर्खरै आएकाहरूलाई तत्काल चुनाव लड्न गाह्रो हुने भएकाले उनीहरूलाई सभापतिले केन्द्रीय सदस्यमा मनोनीत गर्ने रणनीति बनाएका हुन्।
आमनिर्वाचन अघि बालेन समूह, विवेकशील साझा, खगेन्द्र सुनुवार नेतृत्वको समूह र थरुहट लगायतका विभिन्न संगठनबाट नेताहरू रास्वपामा भित्रिएका थिए। तीमध्ये कतिपयले सरकार र संसद्मा अवसर पाइसकेका छन् भने पार्टीमा सक्रिय रहेर पनि कुनै अवसर नपाएकाहरूलाई यसपटक केन्द्रीय सदस्यमा मनोनीत गर्ने तयारी छ। यही व्यवस्थापनका लागि रास्वपाले आफ्नो केन्द्रीय समितिको आकार १५८ सदस्यीय पुर्याएको छ।
हिजो बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले समायोजनबाट आएकाहरूलाई अन्याय हुन नदिने प्रतिबद्धता जनाएका थिए। उनले नयाँ संगठनमा आउनेबित्तिकै चुनावी प्रतिस्पर्धा गर्न सहज नहुने भन्दै त्यसलाई पार्टीले मनोनयनमार्फत सम्बोधन गर्ने आश्वासन दिए।
स्रोतका अनुसार रास्वपामा आएपछि हालसम्म कुनै पनि लाभको पद नपाएका र संगठनमा सक्रिय रहेका नेताहरूलाई नै सभापति लामिछानेले केन्द्रीय सदस्य मनोनयनमा पहिलो प्राथमिकता दिनेछन्।



