घाँटीमा धारिलो हतियार प्रहार गरी सर्लाहीमा एक पुरुषको विभत्स हत्या

प्रकाशित मिति:

सर्लाही । सर्लाहीको बसबरिया गाउँपालिका-१ मानपुरमा शनिबार मध्यराति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी एक पुरुषको विभत्स हत्या गरेका छन्। स्थानीय ५२ वर्षीय होशनारायण राय यादवको आफ्नै भैँसी गोठमा सुतिरहेको अवस्थामा हत्या भएको प्रहरीले जनाएको छ। राति करिब १२ बजे आफ्ना १४ वर्षीय कान्था छोरा राजकपुरसँग गोठमा सुतिरहेका बेला अज्ञात आक्रमणकारीले यादवको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका यादव रगतपच्छे अवस्थामै हारगुहार गर्दै आफन्तलाई जानकारी दिन घरतर्फ दौडिएका थिए। घटनालगत्तै परिवारका सदस्यले उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गोपिकृष्ण सुवेदीका अनुसार मृतकको शव हाल नगर अस्पताल बरहथवामा राखिएको छ भने पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाउने तयारी भइरहेको छ। मृतकका जेठा छोरा सुवास कुमार यादवले आफ्ना बुवा निकै नरम र इमानदार स्वभावको भएको र गाउँमा कसैसँग कुनै विवाद वा रिसिइबी नरहेकाले हत्याको कारण र संलग्न व्यक्तिबारे अनुमान गर्न समेत कठिन भएको बताएका छन्। प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै संकास्पद व्यक्तिहरूको खोजी कार्य जारी राखेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

ताजा समाचार