काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो नयाँ पदाधिकारी टीममा बालेन समूहलाई सम्मानजनक स्थान दिन आन्तरिक गृहकार्य तीव्र पारेको छ। महाधिवेशनको अवसर पारेर बालेन समूहबाट एक उपसभापति र एक महामन्त्री मनोनीत गर्ने विषयमा पार्टीभित्र गम्भीर छलफल चलिरहेको नेताहरूले बताएका छन्। आम निर्वाचनअघि रास्वपामा मिसिएको बालेन समूहबाट तत्कालीन समयमा २६ जना केन्द्रीय सदस्य बनेका थिए भने पछि भूपदेव शाहलाई महामन्त्री बनाइएको थियो। अब बन्ने नयाँ कार्यसमितिमा यो समूहलाई पहिलेभन्दा बढी स्थान दिने रास्वपाको तयारी छ। यसैका लागि रास्वपाले विधान संशोधन गरेर केन्द्रीय समितिको आकार १५१ सदस्यीय बनाएको छ, जसमा ५१ जना केन्द्रीय सदस्यसहित एक उपसभापति, एक महामन्त्री र दुई सहमहामन्त्री सिधै सभापतिले मनोनीत गर्ने व्यवस्था मिलाइएको छ।
समायोजनतर्फका एक नेताका अनुसार बालेन समूहबाट उपसभापतिमा सुनील लम्साल र महामन्त्रीमा पुनः भूपदेव शाह मनोनीत हुने सम्भावना निकै बलियो छ र यसबारे उच्च तहमा लगभग सहमति भइसकेको छ। सभापति रवि लामिछानेले पनि समायोजन भएर आएका नेताहरूलाई अन्याय हुन नदिने प्रतिबद्धता जनाइसकेका छन्। तर, संस्थापन पक्षका एक नेताले भने लम्साल र शाहको नाममा छलफल भए पनि सभापति अन्तिम निर्णयमा पुग्न बाँकी रहेको दाबी गरेका छन्। नयाँ वैधानिक व्यवस्था अनुसार रास्वपामा अब सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री र ९९ जना केन्द्रीय सदस्यका लागि मात्र चुनाव हुनेछ भने बाँकी सबै पदहरूमा सभापतिद्वारा मनोनयन गरिनेछ।



