कञ्चनपुर । कञ्चनपुरमा जनप्रतिनिधिसँग विवाद र हातपातमा उत्रिएको आरोपमा पक्राउ परेकी सञ्चारकर्मी ऐश्वर्या कुँवर विरुद्ध प्रहरीले कानुनी कारबाही अगाडि बढाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उनी विरुद्ध ‘अभद्र व्यवहार’ को कसुरमा मुद्दा दर्ता गरी विस्तृत अनुसन्धान थालेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतका अनुसार कुँवरले जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको छ। भीमदत्त नगरपालिकाको समन्वयमा महेन्द्रनगरस्थित ‘होटल स्विट ड्रिम’ मा बालबालिकाहरूका लागि ‘सुनौलो भविष्य बाल क्लब’ अन्तर्गत तीन दिने नेतृत्व विकास तालिम भइरहेको थियो। सोही कार्यक्रमका क्रममा सञ्चारकर्मी कुँवर र जनप्रतिनिधिहरूबीच भनाभन सुरु भएको थियो।
विवाद बढ्दै जाँदा कुँवरले भीमदत्त नगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष रवीन्द्र देवकोटा र कार्यपालिका सदस्य सीतादेवी भण्डारीमाथि हातपात गरेको प्रहरीको दाबी छ।
उक्त विवाद र हातपातको दृश्य कैद भएको भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। भिडियो सार्वजनिक भएसँगै प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिँदै कानुनी प्रक्रियालाई तीव्रता दिएको हो।



