चितवन । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र प्रतिनिधि सङ्ख्याको विवादका कारण अन्यौलमा परेको छ। बिहान साढे ८ बजे नै सुरु हुने कार्यतालिका भए पनि दिउँसो सवा २ बजेसम्म बन्दसत्र सञ्चालन हुन नसक्दा चितवन प्रदर्शनी केन्द्रमा उपस्थित प्रतिनिधिहरू अन्यौलमा छन्। कतिपय सङ्घीय सांसदहरू नै महाधिवेशन प्रतिनिधिको सूचीमा नपरेपछि उनीहरू आफैँले दाबी विरोधको फाराम भर्नुपर्ने स्थिति बनेको छ। अहिले ती दाबी विरोधमाथि छानबिन गरी प्रतिनिधिको अन्तिम सूची सार्वजनिक गर्ने तयारी भइरहेको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार केही जिल्ला र मधेश प्रदेशका पालिकाहरूमा अन्तिम समयमा मात्रै अधिवेशन भएको तथा कतिपय ठाउँमा अधिवेशन नै नभई तदर्थ समितिमार्फत प्रतिनिधिहरू पठाइएकाले सङ्ख्या रुजु र थपघट गर्न समय लागेको हो। महाधिवेशन कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमितिका संयोजक कविन्द्र बुर्लाकोटीले प्राविधिक व्यवस्थापन र प्रतिनिधिको अन्तिम सूची टुङ्ग्याउनुपर्ने बाध्यताका कारण बन्दसत्र निर्धारित समयभन्दा केही घण्टा ढिलो हुन पुगेको जानकारी दिए। हाल प्रतिनिधिहरू परिचयपत्र देखाउँदै हलभित्र छिर्ने, बाहिरिने र खाना खाएरै समय बिताइरहेका छन्।



