हिरासतभित्रै ज्यान मार्ने धम्की: गृहमन्त्री विरुद्ध मानव अधिकारमा उजुरी

प्रकाशित मिति:

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई हिरासतभित्रै मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोपमा गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता भएको छ। पीडितहरू अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर राज्यको जिम्मेवार पदमा रहेको व्यक्तिबाटै आफूहरूमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको भन्दै निवेदन दिएका हुन्। निवेदनका अनुसार, गत जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा समस्यालाई लिएर भारतीय दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गर्दा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तले पक्राउ गरेको थियो। हिरासतमा राखेको आधा घण्टापछि गृहमन्त्री गुरुङको नेतृत्वमा आएको एउटा टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र पसेर गालीगलौज गर्ने, मानसिक दबाब दिने र ज्यान मार्ने धम्की दिँदै आतंकित पारेको दाबी उनीहरूको छ।

प्रहरी प्रशासनकै मिलेमतो वा लाचारीका कारण हिरासतभित्रै यस्तो संवेदनशील घटना भएको भन्दै निवेदकहरूले आयोगको विशेष टोलीमार्फत घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्। उनीहरूले सोह्रखुट्टे प्रहरी वृत्तको त्यस दिनको सीसीटीभी फुटेज र आगन्तुक अभिलेख (लगबुक) नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने अडान राखेका छन्। पद र शक्तिको दुरुपयोग गरी हिरासतभित्रै यातना दिने गृहमन्त्री र उनको टोलीमाथि फौजदारी कसुर तथा मानव अधिकार उल्लंघनको मुद्दा चलाउन निर्देशन दिनुका साथै अनधिकृत व्यक्तिलाई भित्र छिर्न दिने प्रहरी कर्मचारीमाथि पनि विभागीय कारबाही गर्न आयोगसँग माग गरिएको छ।

ताजा समाचार